गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई; ‘मन्त्रालयको इज्जतका लागि राजीनामा दिएको हुँ, सहयोग गरेकोमा धन्यवाद’: गुरुङ

काठमाडौँ, वैशाख ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको छ ।
उहाँले प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
‘मन्त्रालयको इज्जतका लागि राजीनामा दिएको हुँ, सहयोग गरेकोमा धन्यवाद’
सम्पत्ति तथा शेयर कारोबारको विषय विवादमा आएपछि सुधन गुरुङले मन्त्रालयको इज्जतका लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
राजीनामा दिएपछि बुधबार मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै गुरुङले उक्त कुरा बताएका हुन् ।
‘तपाईंहरुको क्षमतादेखि म निकै खुसी छु । तपाईंहरुको क्षमतालाई मैले बाहिर ल्याउने काम मात्रै गरेको हुँ । यतिन्जेल मलाई सहयोग गरेकोमा तपाईंहरुलाई धन्यवाद दिन चाहान्छु । जुन स्पिरिटले काम गरिएको थियो, त्यसको तपाईंहरु नै हकदार हो । तपाईंहरुको र मन्त्रालयको इज्जतका लागि पनि मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ’ गुरुङलाई उदृत गर्दै एक कर्मचारीले भने ।
गुरुङले दिएको राजीनामालाई धेरैले स्वागत गरेका छन् । आरोप लागेपछि नैतिकता देखाउँदै राजीनामा दिएर अनुसन्धानका लागि बाटो खुल्ला गर्नुलाई धेरैले राम्रो मानेका छन् ।
राजीनामा दिँदै उनले लेखेका छन्, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो कुरा नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषय निष्पक्ष छानबिन होस् ।’