दोस्रो चरणमा थप १७ लाख स्मार्ट सवारी लाइसेन्स छपाइ हुँदै

केदार तिमल्सिना / बनेपा, वैशाख २३ गते । सरकारले दोस्रो चरणमा थप १७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि काम सुरु गरिएको हो।

सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराव तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार पहिलो चरणको सम्झौता अन्तर्गत वैशाख पहिलो सातामै १२ लाख थान लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरिएको थियो।

“पहिलो चरणको १२ लाखमध्ये अत्यावश्यक ३७ हजार ६९८ थान, ब्याकलग ११ लाख ३१ हजार ७५ थान र दैनिक प्रिन्ट ३१ हजार २२७ थान लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरेका छौँ,” उपसचिव तिमिल्सिनाले भन्नुभयो।

केन्द्र र विभागबिच गत कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता भएको थियो। केन्द्रले निर्धारित समयअघि नै उक्त काम सम्पन्न गरेको जनाएको छ।

सरकारले बाँकी रहेका ब्याकलग लाइसेन्स छपाइ सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राख्दै दोस्रो चरणको सम्झौता गरेको हो।

उपसचिव तिमिल्सिनाका अनुसार पहिलो चरणका लागि खरिद गरिएको कच्चा पदार्थ सकिएकाले दोस्रो चरणको छपाइका लागि आवश्यक कागज लगायत सामग्री खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरिएको छ।

उहाँले ती सामग्री आउन करिब दुई साता लाग्ने बताउँदै हाल अत्यावश्यक तथा २४ घण्टे सेवा अन्तर्गतका लाइसेन्स मात्र छापिने जानकारी दिनुभयो।

“दोस्रो चरणको सम्झौता अन्तर्गत हालसम्म ८२४ थान अत्यावश्यक र २१ हजार ४८६ थान दैनिक प्रिन्ट गरी कुल २२ हजार ३१० थान लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरिसकेका छौँ,” उहाँले भन्नुभयो।

हाल १२९ थान अत्यावश्यक र चार हजार ८१ थान दैनिक प्रिन्ट लाइसेन्स छपाइ प्रक्रियामा रहेको केन्द्रले जनाएको छ।

त्यसैगरी, ५० हजार ८९७ थान ब्याकलग लाइसेन्स छापिसकिएको र हस्तान्तरणको प्रक्रियामा रहेको जानकारी दिइएको छ।
यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच प्रति थान १९५ रुपियाँ १७ पैसामा लाइसेन्स छपाइ गर्ने सम्झौता भएको छ।

यसैबिच, केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौता अनुसार हालसम्म ३० लाख थान हुलाक टिकट छापेर हस्तान्तरण गरिसकेको जनाएको छ। थप ६० लाख थान टिकट छाप्ने सम्झौता प्रक्रियामा रहेको छ।

सरकारले राहदानी, बैँक नोटलगायतका सुरक्षण मुद्रण सामग्री विदेशमा छाप्दा बाहिरिने रकम स्वदेशमै रोक्ने उद्देश्यले आर्थिक वर्ष २०७४/०७५ देखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा सुरक्षण मुद्रण छापाखाना निर्माण सुरु गरेको हो।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter