राष्ट्रपति पौडेलद्वारा १०० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत; नीति तथा कार्यक्रममा के-के आए नयाँ विषय ?

काठमाडौँ, वैशाख २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

सङ्घीय संसद्‌काे संयुक्त बैठकलाई सोमबार यहाँ प्रस्तुत गर्नुभएको १०० बुँदे नीति तथा कार्यक्रममले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएको छ । निजामती कर्मचारीलाई तटस्थ बनाउने, दलसँग आबद्धता भएमा जागीरबाटै हटाउनेसम्मको नीति सरकारले लिएको छ ।

नीति तथा कार्यक्रममा के-के आए नयाँ विषय ?

सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेको छ । सोमबार बसेको संघीय संसद्को दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

४४ पृष्ठ, १०० बुँदा र पाँच हजार भन्दा धेरै शब्दमा ल्याइएको उक्त नीति तथा कार्यक्रममा अधिकांश पुरानै सरकारले लिएका नीतिलाई निरन्तरता दिइएको छ । क्षेत्रगत रुपमा केही विषयलाई मात्रै नीति तथा कार्यक्रममा समेटिएको छ ।

के-के छन् नयाँ विषय ?

सरकारले ल्याएको नीति तथा कार्यक्रममा अर्थतन्त्र र लगानी, सूचना प्रविधि र नवप्रवर्तन, रोजगारी र श्रम, पर्यटन र वातावरण, स्वास्थ्य र शिक्षा, सुशासन र प्रशासन, डायस्पोरा र विदेश नीति तथा पूर्वाधार क्षेत्र लगायत सम्बन्धमा केही नयाँ व्यवस्था गरिएको छ ।

अर्थतन्त्र र लगानी

अर्थतन्त्र तथा लगानीको क्षेत्र अन्तर्गत सरकारले ‘सीमारहित अर्थतन्त्र’ र ‘तौलरहित व्यापार’लाई बढावा दिने नीति लिएको छ । सूचना प्रविधिमा आधारित सेवा निर्यात र डिजिटल व्यापारलाई बढावा दिन यस्तो अवधारणा ल्याइएको हो ।

त्यस्तै, अर्थतन्त्रको उत्पादकत्व बढाउन नयाँ चरणको आर्थिक सुधार शृङ्खला सुरु गर्ने सरकारको नीति छ ।

व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्ने ‘लगानी एक्सप्रेस’ नीति र निश्चित रकमभन्दा बढी विदेशी लगानी गर्नेलाई ‘नेपाल लगानी भिसा’ दिने व्यवस्था गरिएको छ ।

त्यस्तै, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउन ‘विप्रेषण-लगानी मिलान कोष’ सञ्चालन गरिने उल्लेख गरिएको छ ।

सूचना प्रविधि र नवप्रवर्तन

यस अन्तर्गत सरकारले नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिनेगरी रिमोट वर्क नीति ल्याउने जनाएको छ । सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गरिने समेत सरकारको नीति छ ।

उच्च क्षमताका डेटा सेन्टर र डिजिटल पार्क निर्माण गरी नेपाललाई ‘टेक हब’ बनाउने समेत सरकारले जनाएको छ ।

एकै दिनमा कम्पनी दर्ता र बिउ पुँजी लगायतका सेवा दिन स्टार्टअप नेपाल पोर्टल नामक फ्लेटफर्म सञ्चालन गरिने उक्त दस्तावेजमा उल्लेख छ ।

श्रम तथा रोजगारी

आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरिएको छ । यो नयाँ विषय हो । ‘कमाउँदै सिक्दै’ कार्यक्रमलाई निरन्तरता दिँदै यसमा आधारित भई राष्ट्रिय अप्रेन्टिससिप कार्यक्रम र विदेशबाट फर्केका युवाको सीपलाई डिजिटल ‘सीप पासपोर्ट’ मार्फत अभिलेखीकरण गरिने कार्यक्रम छ ।

पर्यटन र वातावरण

पर्यटन क्षेत्र अन्तर्गत नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान घोषणा गरिएको छ । त्यस्तै २०८५ साललाई ‘भिजिट नेपाल-२०८५’ को रुपमा मनाउन पूर्वतयारी सुरू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नेपालको पानीलाई अन्तर्राष्ट्रियकरण गर्न ब्रान्डिङ गर्न ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणा ल्याइएको छ ।

छरिएका प्रदूषण शुल्कहरूलाई एकीकृत गरी ‘हरित कर’ प्रणाली लागु गरिने र छुट्टै ‘नेपाल कार्बन प्राधिकरण’ गठन गरिने व्यवस्था समेत गरिएको छ । डढेलो नियन्त्रणका लागि छुट्टै केन्द्र स्थापना गरिनेछ ।

स्वास्थ्य

स्वास्थ्य क्षेत्र अन्तर्गत रोग निगरानी र नियन्त्रणका लागि ‘सेन्टर फर डिजिज कन्ट्रोल’ र ‘राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण’ स्थापना गर्ने व्यवस्था गरिएको छ । सङ्घीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गर्ने समेत सरकारको कार्यक्रम छ ।

सुशासन र प्रशासन

सुशासन अभिवृद्धिका लागि राजनीतिक दलहरूसँगको संवादका आधारमा संविधान संशोधनका विषय पहिचान गरी ‘संविधान संशोधन बहस पत्र’ तयार गरिने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, असारे विकास र खरिदमा हुने विकृति अन्त्य गर्न साउनदेखि नै खरिद प्रक्रिया सुरू गर्ने ‘शून्य दिन खरिद नीति’ लिइने पनि उक्त दस्तावेजमा उल्लेख गरिएको छ ।

निजामती र अन्य सरकारी सेवाका कर्मचारीहरूका लागि स्वार्थको द्वन्द्व रोक्न ‘कुलिङ अफ’ अवधिको व्यवस्था गरिने जनाइएको छ । यसअघि निजामती विधेयकमा यो व्यवस्था राख्ने व्यवस्था गरे पनि पारित हुन सकेको थिएन । नीति अनुसन्धानका लागि ‘थिङ्क-ट्याङ्क’का रूपमा राष्ट्रिय नीति शोधशालाको विकास गरिने समेत उल्लेख गरिएको छ ।

डायस्पोरा र विदेश नीति

विदेशमा रहेका नेपालीको सुरक्षा र तत्काल उद्धारका लागि परराष्ट्र मन्त्रालयमा सातै दिन चौबीसै घण्टा चल्ने सेन्ट्रल रेस्पोन्स युनिट स्थापना गर्ने सरकारको कार्यक्रम छ । प्रवासी नेपालीहरूको पुँजी र सीपलाई राष्ट्रिय विकाससँग जोड्न ज्ञान बैंक र डायस्पोरा विज्ञ सञ्जाल संयन्त्र निर्माण गर्ने समेत व्यवस्था गरिएको छ ।

त्यस्तै, निश्चित भन्दा धेरै लगानी गर्ने विदेशी लगानीकर्तालाई लगानी भिसा दिने नीति समेत गरिएको छ ।

पूर्वाधार

काठमाडौँ उपत्यकामा बस ऱ्यापिड ट्रान्जिट (बीआरटी)को विस्तृत डिजाइन र कार्यान्वयन सुरू गरिने सरकारको कार्यक्रम छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter