दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई पुरस्कृत गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ, जेठ १ गते । नेपाल चिकित्सक संघले दुर्गम क्षेत्रमा सेवा गरिरहेका चिकित्सकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। आगामी जेठ १६ र १७ गते चितवनको भरतपुरमा आयोजना हुन लागेको ‘अल नेपाल मेडिकल कन्फरेन्स’ को अवसरमा श्याम सजन ट्रस्ट मार्फत एक जना चिकित्सकलाई पुरस्कृत गरिने संघले जनाएको छ।
पुरस्कारका लागि नेपालको दुर्गम क्षेत्रमा कार्यरत ४५ वर्ष मुनिका लगनशील चिकित्सकहरूलाई दरखास्त दिन आह्वान गरिएको छ। इच्छुक चिकित्सकले आफूले दुर्गममा सेवा गरेको प्रमाण सहित आगामी जेठ ८ गते भित्र चिकित्सक संघको आधिकारिक इमेल nma@nma.org.np मार्फत निवेदन पेस गर्नुपर्नेछ।
संघका महासचिव डा.सञ्जीव तिवारीका अनुसार यो पुरस्कार प्राप्त गर्नका लागि आवेदक संघको आजीवन सदस्य हुनुपर्नेछ। यस्तै, आवेदकको उमेर ४५ वर्ष भन्दा कम हुनुपर्ने र दुर्गम वा अति दुर्गम क्षेत्रमा कार्य गरेको आधिकारिक प्रमाण पेस गर्नुपर्नेछ। पुरस्कारको लागि आवेदन दिने चिकित्सकले आगामी राष्ट्रिय सम्मेलनमा अनिवार्य रूपमा दर्ता गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
दुर्गममा समर्पित चिकित्सकको हौसला बढाउन यो पुरस्कार प्रदान गर्न लागिएको संघले जनाएको छ।