मन्त्रीपरिषद् बैठकका चार निर्णय : ओजोन तह संरक्षण सम्झौता अनुमोदन, भूमि समितिमा पदाधिकारी नियुक्त

काठमाडौँ, जेठ १९ गते । सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्युनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलबार दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रीपरिषद्को सिंहदरबारमा बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको उक्त महत्त्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो ।
बैठकले सशस्त्र प्रहरी बल, नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ । सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको कार्यावधि ४५ दिनका लागि थप गरिएको हो ।
सँगै सरकारले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नयाँ पदाधिकारी नियुक्ति गरेको छ । निर्णय अनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला नियुक्त हुनुभएको छ । समिति सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनिती सोती र डा. रोना श्रेष्ठलाई नियुक्त हुनुभएको हो ।
मन्त्रीपरिषद् बैठकका चार निर्णय
- United Nations Environment Programme (UNEP) बाट ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्युनीकरणसम्बन्धी Moteral Protocal को कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।
- सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्जुनीकुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने।
- संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने ।
- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला, कास्की तथा सदस्य पदमा अमिरप्रसाद न्यौपाने, काठमाडौँ, पद्मिनी सोती, लमजुङ र डा. रेहना श्रेष्ठ, काठमाडौँलाई नियुक्ति गर्ने ।