कामपाद्वारा शिक्षण अस्पताललाई एक करोड ७० लाख बराबरको डिजिटल उपकरण हस्तान्तरण

काठमाडौँ, जेठ २१ गते । महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपिडी) सेवालाई बिरामीमैत्री बनाउन एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।

आज अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अस्पतालका प्रमुख प्राडा. सुवास आचार्यलाई ती उपकरण हस्तान्तरण गर्नुभएको हो ।

यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरूमा शुल्क भुक्तानी गर्न सकिने, जाँचसम्बन्धी परीक्षण रिपोर्ट बिरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाट पैसा भुक्तानी गर्न सकिने सुविधा भएका १६ वटा ‘इन्टर्‍याक्टिभ किओक्स मेसिन’, रिपोर्ट तथा परीक्षणलगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा ‘अल इन वन डेक्सटप’ रहेका कामपाले जनाएको छ ।

साथै प्रभावकारी र शीघ्र सेवाका लागि सर्भर र र्‍यामको क्षमता वृद्धि गरिएको छ । कार्यक्रममा प्रमुख डङ्गोलले सरकारी अस्पतालमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नुपर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन सहज हुने छ । यसकारण अस्पतालसँगको सहकार्यलाई हामीले विशेष मानेका छौँ । हामीले आजको दिनलाई विशेष ठानेका छौँ ।”

कामपाको संस्थागत जगको विषयमा प्रमुख डङ्गोलले सहर सफा गर्ने दायित्व दिएर स्थापना गरिएको अड्डा अहिले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, वातावरण, आर्थिक तथा सामाजिक विकास, सम्पदा तथा पर्यटनसहित नागरिकसँग जोडिएका सबै सेवा प्रदान गर्ने स्थानमा पुगेको जनाउँदै अस्पतालसँगको सहकार्यमा ‘टेली सर्भिस’ सञ्चालन गर्न सकिने बताउनुभयो ।

अस्पतालका प्रमुख प्राडा. आचार्यले प्राप्त प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतीकरण गर्दै बिरामीमैत्री सेवा व्यवस्थापनमा कामपाले उपलब्ध गराएको सहयोगले रूपान्तरण गर्न सम्भव भएको उल्लेख गर्नुभयो ।

“पहिलो चरणको सहयोगबाट महसुस गर्न सकिने सेवा दिन छौँ । दोस्रो चरणमा पनि सहयोग हुने अपेक्षा गरेका छौँ । यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस बनाउन सकिन्छ ।”

कामपाले स्वास्थ्य प्रवर्धन केन्द्रहरूबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जानकारी दिनुभयो ।

“अस्पतालको सेवा व्यवस्थापनमा कामपाको हक लाग्ने गरी सहयोग प्रदान गरेका छौँ । यसबाट कामापलाई लाभ हुने छ ।”

यसअघि कामपाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ‘भेन्टिलेटर मेसिन’, त्यसपछि ‘सिटी स्क्यान मेसिन’, अस्पतालको ‘वेड क्यु सिस्टम’ व्यवस्थापन प्रणालीलगायत सहयोग सामग्री उपलब्ध गराइसकिएको कामपाको भनाइ छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter