११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार

काठमाडौँ, असार २ गते । चालु आर्थिक वर्षको ११ महिनामा ७ लाख २२ हजार ८४१ व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । चालु आव २०८२/८३ को जेठमसान्तसम्म वैदेशिक रोजगारीमा ७ लाख २२ हजार ८४१ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

गत महिना वैशाखमा ७४ हजार ४२९ नेपाली वैदेशिक रोजगारीमा गएका थिए, तर वैशाख महिनाको भन्दा जेठमा भने कम नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार वैदेशिक रोजगारीमा जानेमा पुरुषको तुलनामा महिलाको संख्या निकै कम देखिएको छ । जेठ महिनामा ५३ हजार ६९८ पुरुष र ७ हजार ३७४ महिलाले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेकाले यो वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षकै हाराहारीमा पुग्ने देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २ सय ६६ जना युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको मुख्य स्रोत रहेको वैदेशिक रोजगारीप्रतिको आकर्षण अझै उच्च रहेको देखिन्छ । जेठ महिनामा नेपाली श्रमिकहरूको पहिलो रोजाइ मलेसिया बनेको छ । मलेसियाका लागि कुल १४ हजार १९२ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ, जहाँ १२ हजार ४५५ जना नेपाली जाने तयारीमा छन् ।

त्यस्तै, कतारमा १० हजार २१० जना साउदी अरबमा ७ हजार ५१९ जना र रोमानियामा २ हजार ५१५ जना वैदेशिक रोजगारीका लागि गएका छन् । पछिल्लो समय युरोपेली मुलुक रोमानियामा नेपाली श्रमिकको आकर्षण बढ्दो देखिएको छ । यस्तै जापानका लागि १ हजार ७५९ र कुवेतका लागि १ हजार ९६७ जनाले श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो समय मलेसिया र खाडी मुलुकमा मात्र केन्द्रित नभई श्रमिकहरू रोमानिया, जापान र साइप्रस जस्ता नयाँ गन्तव्यतर्फ पनि आकर्षित हुन थालेका छन् । सरकारले दक्ष जनशक्ति पठाउन जोड दिएपनि अझै ठुलो हिस्सा अदक्ष कामदारका रूपमा विदेशिनुले स्वदेशमै सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

दक्ष जनशक्तिको वर्चस्व

श्रम स्वीकृति लिनेहरूको सीपको आधारमा विश्लेषण गर्दा दक्ष कामदारको संख्या सबैभन्दा बढी छ । कुल स्वीकृतमध्ये ३७ हजार ३९१ जना दक्ष श्रेणीका रहेका छन् । यसले वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा क्रमशः सीप सिक्ने क्रम बढेको देखाएको छ ।

१४ हजार ९९४ जना अझै पनि अदक्ष कामदारका रूपमा वैदेशिक रोजगारीमा गइरहेका छन् । जसमा दक्ष जनशक्तिमा ३७ हजार ३९१ जना, अर्ध–दक्ष ८,३२८ जना, व्यावसायिक २९६ जना र उच्च दक्ष ६३ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

धनुषा र झापा अगाडि

श्रमिकको स्रोत जिल्लाका आधारमा तराईका जिल्लाहरूबाट विदेशिनेको संख्या उच्च छ । धनुषा जिल्लाबाट सबैभन्दा बढी २ हजार ८३१ जनाले श्रम स्वीकृति लिएका छन् भने झापाबाट २ हजार ६४४ र मोरङबाट २ हजार ४५३ जना वैदेशिक रोजगारीमा जाँदैछन् ।

कुन महिनामा कति ?

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ६८ हजार ११० वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४ र कात्तिकमा ७३ हजार ९४ जना रोजगारीका लागि विदेश गएको विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्क अनुसार मंसिरमा ६५ हजार ७०५ र पुसमा ६२ हजार ५५९ जना रोजगारीका लागि विदेश गएका छन् ।

त्यस्तै माघमा ७० हजार ५०३ जना, फागुनमा ५२ हजार ९४४, चैतमा ६१ हजार ८१९, वैशाखमा ७४ हजार ४२९ जना र जेठमा ६१ हजार ७२ जना वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।

महिना श्रम स्वीकृति सङ्ख्या

साउन ६८ हजार ११०
भदौ ६७ हजार ९७२
असोज ६४ हजार ६३४
कात्तिक ७३ हजार ९४
मंसिर ६५ हजार ७०५
पुस ६२ हजार ५५९
माघ ७० हजार ५०३
फागुन ५२ हजार ९४४
चैत ६१ हजार ८१९
वैशाख ७४ हजार ४२९
जेठ ६१ हजार ७२
जम्मा ७ लाख २२ हजार ८४१

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter