व्यक्तिगत वैमनस्यता त्यागेर देश निर्माणमा सहकार्य गरौँ: सभापति लामिछाने; कांग्रेस रास्वपाको दुश्मन होइन, प्रतिस्पर्धी हो : गगन थापा

काठमाडौँ, असार ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबिच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उद्घाटन समारोहमा मन्तव्य राख्दै सभापति लामिछानेले नयाँ पुस्ताका राजनीतिज्ञ ठुलो हृदय बोकेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “हामीलाई अब आपसमा प्रतिस्पर्धा गरेर समय खेर फाल्ने छुट छैन,” उहाँले भन्नुभयो, “हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी स्वार्थ हुन्, ती यहीँ र अहिले नै सकिनुपर्छ । हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरू इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ्नुपर्छ ।” उहाँले रास्वपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो ।
रास्वपाको नेतृत्वमा देश पूर्ण रूपमा सुरक्षित रहेको विश्वास दिलाउँदै सभापति लामिछानेले अघिल्लो पुस्ताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न पार्टी कटिबद्ध रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निर्माता र नागरिक निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा सुरक्षित छ । लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणको सिद्धान्त, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हकअधिकार र समावेशीता जस्ता अघिल्लो पुस्ताले सुम्पेका मूर्धन्य उपहारलाई हामी पूर्ण रूपमा जगेर्ना गर्ने छौँ ।”
सरकार सञ्चालनको सन्दर्भमा बोल्दै सभापति लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहसँगको समझदारीमा कुनै समस्या आउन नदिने घोषणा गर्नुभयो । उहाँले खेलको शैलीमा उदाहरण दिँदै भन्नुभयो, “सरकार सञ्चालन गर्न चुनाव अगाडि नै वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब भटाभट गोल हान्ने मुख्य जिम्मा बालेनजीको हो । यदि झुक्किएर त्यो बल मतिर आयो भने पनि पुनः उहाँकै खुट्टामा पास गर्ने जिम्मा मेरो भयो ।” उहाँले दलबिच सम्बन्ध बिगार्न खोज्ने तत्वलाई आफूले मञ्चबाट भन्दा पनि इतिहासमार्फत जवाफ दिने प्रष्ट पार्नुभयो ।
सोही क्रममा सभापति लामिछानेले मुलुकका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) भित्र देखिएका आन्तरिक अप्ठ्यारा र विवाद तत्काल सुल्झाउन आग्रह गर्नुभयो । ठुला दलभित्रको अस्थिरताले सिङ्गो देशलाई नै असर पार्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “ती दलका अप्ठ्याराहरू सुल्झिएनन् भने देशकै लागि समस्या बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रको विवाद मिलाउनुहोला ।” आफ्नो दल मात्र नभई देशका अन्य प्रमुख दल पनि सवल र व्यवस्थित भएमा मात्र मुलुकले सही गति लिने उहाँको भनाइ थियो ।
कांग्रेस रास्वपाको दुश्मन होइन, प्रतिस्पर्धी हो : गगन थापा
७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रास्वपाको दुश्मन नभएको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं,’ सभापति थापाले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन ।’
तर, रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको बताए ।
‘तर तपाईंहरूलाई सानो बनाएर होइन । तपाईंहरूको खुट्टा काटेर होइन । मन वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं ।’