काउली खेतीले डाँडाबजारको पाखै हराभरा

शशिधर पराजुली / विराटनगर, असार ७ गते । कुनै समय पूर्वी पहाडका तेह्रथुम, सङ्खुवासभा र भोजपुरका बासिन्दाका लागि नुन, लत्ताकपडा र खाद्यान्नको मुख्य व्यापारिक केन्द्र थियो धनकुटाको डाँडाबजार ।

धरान–धनकुटा सडक विस्तारसँगै व्यापारिक चहलपहल घटेपछि सुस्ताएको यो बजारले अहिले नयाँ परिचय बनाएको छ । अचेल डाँडाबजारका डाँडापाखा र पखेराहरू काउली तथा अन्य बेमौसमी तरकारी खेतीले छपक्कै ढाकिएका छन् ।

डाँडाबजारको यो फेरिएको परिचयसँगै स्थानीय किसानहरूको जीवनस्तर मात्र बदलिएको छैन, यहाँका बासिन्दाको पेसा र लगावसमेत बदलिएको छ । यसको एउटा उदाहरण हुनुहुन्छ, साँगुरीगढी गाउँपालिका–५ का ४७ वर्षीय तारावीर तामाङ ।

सशस्त्र द्वन्द्वका बेला सशस्त्र प्रहरी बलमा हवलदार पदमा रहनुभएका तारावीरले २०६४ सालमा बन्दुक र बर्दी बिसाएर आफ्नै पुर्ख्याैली माटोमा पसिना बगाउने निर्णय लिनुभयो । “जागीरमा अरूको आदेश पालना गर्नुपथ्र्यो, माटोमा काम गर्दा आफ्नै पसिनाको मालिक आफैँ भएको छु” तामाङले भन्नुभयो, “बन्दुकको नाल समात्ने मेरा यी हातले अहिले हँसिया र कोदाली समात्दा बढी सन्तुष्टि मिलेको छ ।”

आफ्नो र दाजुभाइको गरी २० रोपनी पाखाबारीमा उहाँले तरकारी खेती गरिरहनुभएको छ । त्यसमध्ये १५ रोपनीमा काउली र बाँकीमा मूला, खुर्सानी, मकै र भट्टमास लगाउनुभएको छ । यो सिजनमा उहाँले झण्डै ८० क्विन्टलसम्म काउली फलाउने गर्नुभएको छ । कात्तिकसम्म उहाँले दुई बाली काउली उत्पादन गर्नुहुन्छ । त्यसबाट वार्षिक ५ लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको उहाँले बताउनुभयो ।

तामाङ मात्र होइन, डाँडाबजारका झण्डै २५० किसान अहिले व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । तराईमा धान मुख्य बाली भएजस्तै यहाँका किसानका लागि काउली र अन्य बेमौसमी तरकारी आम्दानीको मुख्य स्रोत बनेको छ । किसानहरूले वर्षाको समयमा मात्र काउलीको दुई बाली उत्पादन गर्छन् ।

यस बाहेक गोलभेडा, सिमी, अकबरे खुर्सानी, स्कुसको टुप्पा, रुख टमाटर, आलु र सागसब्जी यहाँको मुख्य उत्पादन हो । धनकुटाको भेडेटारबाट १६ किलोमिटर पूर्वमा पर्ने डाँडाबजार आजभोलि पर्यटनको नयाँ केन्द्रको रूपमा पनि विस्तार भइरहेको छ । डाँडाबजारमा होमस्टे स्थापना भई सञ्चालनमा आएपछि भेडेटार र नाम्जेबाट पर्यटकहरू चौबिसे क्षेत्रतर्फ सर्न थालेका छन् ।

त्यही चौबिसे क्षेत्रमा रहेको डाँडाबजारमा पुग्ने आन्तरिक पर्यटकहरूका लागि यहाँको तरकारी खेती पनि रमणीय दृश्यावलोकनको वस्तु बन्ने गरेको छ । तराईको अत्यधिक गर्मी छल्न डाँडाबजार पुग्ने पर्यटकहरू फर्कँदा यहाँको ताजा तरकारी कोसेलीका रूपमा लैजाने गर्छन् ।

स्थानीय किसानको बारीबाटै सिधै तरकारी खरिद गर्दा बिचौलियाले लिने मुनाफा किसान आफैँले पाउने भएकाले उहाँहरू उत्साहित हुनुहुन्छ । “व्यापारीलाई बेच्दा उचित मूल्य पाउन गाह्रो हुन्छ, तर पर्यटकले बारीमै आएर लैजाँदा राम्रो मूल्य पाइन्छ” स्थानीय किसानहरूले भन्नुभयो ।

उत्पादन र सम्भावना राम्रो भए पनि किसानका समस्या भने कम छैनन् । बिचौलियाको दबदबा रहने भएकोले किसानले प्रतिकिलो ३०–३५ रुपियाँमा बेचेको तरकारी उपभोक्ताले १०० रुपियाँसम्म तिर्नुपर्ने बाध्यता छ ।

डाँडाबजारकै कृषक सीता घिमिरे भन्नुहुन्छ, “मिहिनेत हाम्रो छ, तर नाफा बिचौलियाले लैजान्छन् । सिधै उपभोक्तालाई बिक्री गर्न पाउने हो भने हामी किसानलाई र उपभोक्ता दुवैलाई फाइदा हुन्थ्यो ।”

बजारको समस्यासँगै पछिल्लो समय माटोमा देखिएको रोगले पनि किसानलाई चिन्तित बनाएको छ । बिरुवाको फेदमा गिर्खा पर्ने र बोट ओइलाउने समस्या देखिएको तर समाधान गर्ने दक्ष कृषि प्राविधिकको अभाव झेल्नु परेको उहाँहरूको गुनासो छ ।

स्थानीय सरकारले भने किसानलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याएको दाबी गरेको छ । साँगुरीगढी–५ का वडाअध्यक्ष खड्गबहादुर लिम्बूले बिउ बिजनका लागि वार्षिक ४ लाख रुपियाँ छुट्याइएको बताउनुभयो । त्यस्तै, गाउँपालिका अध्यक्ष जितेन्द्र राईले ‘एक वडा, एक प्राविधिक’ को नीति ल्याइएको र बिचौलियाको प्रभाव कम गर्न आधुनिक प्रविधिमा अनुदान दिने तयारी भइरहेको जानकारी दिनुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter