नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो: शिक्षामन्त्री पोखरेल

काठमाडौँ, असार ११ गते । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभएको हो ।
“यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ,” मन्त्री पोखरेलले भन्नुभएको छ, “नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरू आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो ।”
नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो । तर, आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैसँग अनुरोधसमेत गर्नुभएको छ ।
यसैबीच, परीक्षाको विश्वसनीयता र विद्यार्थीको संशयलाई सम्बोधन गर्न सरकारले एक विशेष समिति गठन गरेको जानकारीसमेत मन्त्री पोखरेलले दिनुभएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको नमुना परीक्षण तथा परीक्षाङ्क एवं डेटा इन्ट्रीको प्रमाणीकरण गर्न समिति गठन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।