किसानलाई ५० प्रतिशत अनुदानमा मौरीघार

साजन परियार / पर्वत, असार ११ गते । कृषकको आयआर्जन वृद्धि तथा व्यावसायिक मौरीपालन प्रवर्धन गर्ने उद्देश्यले फलेवास नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा नगरपालिकाले ११ जना व्यावसायिक मौरीपालक कृषकलाई २५० वटा मौरीघार हस्तान्तरण गरेको हो । नगरपालिकाले ‘व्यावसायिक मौरी प्रवर्धन कार्यक्रम’ अन्तर्गत न्यूनतम २५ वटा घार भएका कृषक छनोट गरी अनुदान उपलब्ध गराएको जनाएको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख केदार सापकोटाका अनुसार कृषकको मागका आधारमा घार खरिद गरी ५० प्रतिशत लागत साझेदारीमा वितरण गरिएको हो । प्रतिघार चार हजार रुपियाँका दरले खरिद गरिएका घारको आधा रकम कृषक स्वयम्ले बेहोरेका छन् । बाँकी रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको छ ।
यस कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ६ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । कार्यक्रमबाट विशेषगरी साना तथा मझौला कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
घार हस्तान्तरण कार्यक्रममा नगर प्रमुख गङ्गाधर तिवारी र उपप्रमुख शोभाकुमारी क्षेत्री सहभागी हुनुहुन्थ्यो । नगर प्रमुख तिवारीले मौरीपालनलाई वैकल्पिक पेसामात्र नभई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य अनुसार आगामी वर्षहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले उल्लेख गर्नुभयो ।
उपप्रमुख क्षेत्रीले मौरीपालन व्यवसायले कृषकको आयआर्जन वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै अनुदानमा प्राप्त घारले व्यवसाय विस्तारका लागि थप उत्साह मिलेको बताउनुभयो । मौरीपालनबाट अतिरिक्त आम्दानी वृद्धि हुनुका साथै कृषि उत्पादनमा परागसेचनमार्फत सकारात्मक प्रभाव पर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
मौरीसहितका घार प्राप्त गरेपछि कृषकहरू उत्साहित बनेका छन् । नगरपालिकाले घार वितरणसँगै प्राविधिक सहयोग तथा तालिमको व्यवस्था पनि गर्ने जनाएको छ ।