नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ, असार १५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचारिकीकरणमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ ।

सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताउनुभएको हो ।

ऊर्जा क्षेत्रमा विगत डेढ दशकदेखि राज्यले अर्बौँ रुपियाँ कर छुट र वित्तीय प्रोत्साहन दिँदै आएको उल्लेख गर्दै अर्थमन्त्रीले हाल विद्युत् उत्पादनमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशत पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पञ्चायत कालको अन्त्यमा २६२ मेगावाट रहेको जडित क्षमता यस आर्थिक वर्षको अन्त्यसम्म पाँच हजार दुई सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।

विद्युत क्षेत्रलाई करको दायरामा ल्याउन पाँच प्रतिशत भ्याट प्रस्ताव गरिएको भए पनि ५० युनिटसम्म निःशुल्क उपलब्ध गराइने र मूल्य समायोजनमार्फत आम उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी साउन १ गतेदेखि कार्यान्वयन गरिने उहाँले स्पष्ट पार्नुभयो।

बजेट निर्माणका लागि लिइने ऋणका विषयमा टिप्पणी गर्दै उहाँले ऋणलाई निरपेक्ष अङ्कमा मात्र नभई कुल गार्हस्थ्य उत्पादन (जिडिपी)सँगको अनुपातमा बुझ्न आग्रह गर्नुभयो ।

आगामी आर्थिक वर्ष झन्डै साढे ६ खर्ब ऋण लिने प्रस्ताव गरिएको भएपनि त्यसको ठुलो हिस्सा (करिब आधा) पुरानै ऋणको सावाँब्याज तिर्नमा खर्च हुने उहाँको भनाइ छ ।

अर्थतन्त्रको आकार ६६ खर्बबाट ७४ खर्ब पुग्ने अनुमान रहेकाले ऋण थपिए पनि ‘डेट टु जिडिपी’ अनुपात स्थिर रहने उहाँले दाबी गर्नुभयो । करका दरहरू हेरफेर गरिएको विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले वि.सं.२०४८ सालपछि पहिलो पटक आयकर, मूल्य अभिवृद्धि कर, भन्सार र अन्तःशुल्कमा एकै पटक ठुलो संरचनागत सुधार गरिएको बताउनुभयो ।

स्वदेशी उद्योगलाई प्रोत्साहन दिन कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा रहेको विसङ्गति सच्याइएको उहाँले उल्लेख गर्नुभयो । साथै, बजेट भाषणअघि भएका केही प्राविधिक त्रुटिहरूलाई विधिवत् रूपमा सच्याइएको र अर्थ विधेयकमा कुनै पनि अनधिकृत परिवर्तन नगरिएको उहाँले स्पष्ट पार्नुभयो ।

निजी विद्यालयमा लगाइएको शिक्षा सेवा शुल्कलाई उहाँले ‘प्रगतिशील कर’ को संज्ञा दिनुभयो । निजी विद्यालयमा शुल्क तिर्नसक्ने वर्गबाट सङ्कलित रकम सार्वजनिक शिक्षाको सुधारमा खर्च गरिने सरकारको योजना छ ।

मध्यम वर्गलाई राहत दिन आयकरको सीमा पाँच लाखबाट बढाएर १० लाख पुर्‍याइएको र निजी विद्यालयमा हुने खर्चमा समेत निश्चित कर कट्टीको सुविधा दिइएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश र स्थानीय तहमा जाने समानीकरण अनुदान बढाइएको जानकारी दिँदै उहाँले राजश्व सङ्कलनको लक्ष्य अनुरूप नै वित्तीय हस्तान्तरण हुने बताउनुभयो । हाल पुँजीगत खर्चको अवस्था कमजोर रहेको स्वीकार गर्दै उहाँले राज्यको खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।

साथै, अर्थ मन्त्रालयको तजबिजी अधिकार कटौती गरी सम्बन्धित मन्त्रालयहरूलाई नै बजेट कार्यान्वयनमा थप अधिकार र जिम्मेवारी प्रत्यायोजन गरिएको उहाँले बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले कमजोर सरकारले आट्न नसक्ने ठुला सुधारका कार्यहरू वर्तमान सरकारले अघि बढाएको भन्दै यसलाई रचनात्मक ढङ्गले बुझिदिन सांसदलाई आग्रह गर्नुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter