१८ वर्षभन्दा कम उमेरका कसैलाई पनि सदस्यता दिएका छैनौँ : रास्वपा

काठमाडौँ, असार १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनको सदस्यतासम्बन्धी तथ्याङ्कलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिवेदनको तथ्याङ्कलाई उद्धृत गर्दै १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना व्यक्ति पार्टीको सदस्य रहेको भनी आएका समाचार तथ्यपरक नरहेको रास्वपाले स्पष्ट पारेको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा आज जारी विज्ञप्तिमा रास्वपा नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुन तथा नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट स्थापित बालअधिकार तथा बालबालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २ उपदफा (ञ) ले १८ वर्ष पूरा भएको व्यक्तिलाई साबालक मानेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र पार्टीको विधानबमोजिम १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मात्र पार्टी सदस्य हुन पाउने व्यवस्था छ । तसर्थ, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य रास्वपाको नीति, अभ्यास र उद्देश्य कतै पनि छैन ।”
रास्वपाले आफ्नो डिजिटल सदस्यता प्रणालीमा ‘सदस्यता आवेदन’, ‘प्रमाणीकरण’ र ‘अन्तिम स्वीकृति’ फरक–फरक प्रशासनिक तथा प्राविधिक चरणहरू रहेको प्रष्ट पारेको छ । मोबाइल एप वा वेबसाइटमार्फत सदस्यताका लागि जो कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था भए तापनि त्यस्तो प्रारम्भिक आवेदन स्वतः स्वीकृत नहुने र नागरिकता वा आधिकारिक प्रमाणका आधारमा प्रमाणीकरण भएपछि मात्र अन्तिम स्वीकृति दिइने विज्ञप्तिमा जनाइएको छ ।
महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क पार्टीको डिजिटल प्रणालीमा रहेका प्रारम्भिक आवेदन विवरणको समष्टिगत विश्लेषण मात्र भएको र त्यो प्रमाणित तथा अन्तिम रूपमा स्वीकृत सदस्यहरूको आधिकारिक अभिलेख नभएको महामन्त्री आचार्यले प्रष्ट पार्नुभएको छ । आवेदन दिने क्रममा निवेदक स्वयंले विवरण प्रविष्ट गर्दा विक्रम संवत् र इसवी संवतको गलत छनोट, जन्ममिति प्रविष्टिमा टाइपोग्राफिकल त्रुटि वा जन्ममितिको सट्टा हालको मिति प्रविष्ट गरेका कारण प्रणालीले केही आवेदकको उमेर वास्तविकभन्दा कम देखाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पार्टीको डिजिटल प्रणालीमा दर्ता भएका कुल पाँच लाख २३ हजार ४६५ सदस्यता आवेदनमध्ये तीन लाख ९० हजार ११२ सदस्यको विवरण नागरिकता लगायतका आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको र बाँकी आवेदनहरू प्रक्रियामै रहेको रास्वपाले जनाएको छ ।
यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिँदै रास्वपाले सदस्यता प्रणालीको विस्तृत प्राविधिक तथा प्रशासनिक समीक्षा प्रारम्भ गरेको छ । भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन प्रणालीबाटै १८ वर्षभन्दा कम उमेरका आवेदन स्वतः रोक्ने ‘भ्यालिडेसन कन्ट्रोल’ लागू गर्ने, प्रमाणीकरण भइसकेका अभिलेखको पुनः परीक्षण गर्ने र गल्तीले कसैको सदस्यता स्वीकृत भएको पाइएमा तत्काल खारेज गर्ने प्रतिबद्धता विज्ञप्तिमार्फत जनाइएको छ ।
पर्याप्त परीक्षण र प्रमाणीकरण सम्पन्न नहुँदै प्रारम्भिक आवेदन विवरणमा आधारित कच्चा तथ्याङ्क महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुन पुगेकोमा र यसबाट आमनागरिक तथा सञ्चारमाध्यममा भ्रम वा अन्योल उत्पन्न भएकोमा रास्वपाले दुःख व्यक्त गरेको छ । सम्पूर्ण विवरणको पुनः परीक्षण गरी आवश्यक संशोधन तथा अद्यावधिक तथ्याङ्क यथाशीघ्र सार्वजनिक गरिने महामन्त्री आचार्यले बताउनुभएको छ ।