विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौँ, असार १८ गते । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ।
पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै उनकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
बिहीबार उक्त रिटमा न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेकोको इजलासले रिट खारेज गरेको हो।
विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पहिलो पटक सात दिन, दोस्रो पटक तीन दिन र अहिले तेस्रो पटक ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेश भएकामा आज तेस्रो पटक ६ दिन म्याद थप भएको छ ।”
उपाध्यक्ष पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएको हो । उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।रासस