प्रतिफल दिने क्षेत्रमा मात्रै ऋण लगानी गर्छौँ :अर्थमन्त्री वाग्ले

काठमाडौँ, असार २५ गते । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने बताउनुभएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढेको बताउनुभयो । पछिल्लो सातआठ वर्षमा वार्षिक औसत १८ प्रतिशतका दरले बढेको उहाँको भनाइ छ ।उहाँले आवश्यक र प्रतिफलमुखी क्षेत्रमा ऋण लिनैपर्ने बताउनुभयो।

ऋण लिनु आफैँमा गलत नभएको स्पष्ट पार्दै उहाँले उत्पादनशील क्षेत्रमा लगानीका लागि लिइने ऋणले अर्थतन्त्रको आकार विस्तार गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।

आगामी वर्षमा सरकारले करिब साढे छ खर्ब रुपियाँ ऋण उठाउने योजना बनाएको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले त्यसको ठुलो हिस्सा पुरानो ऋणको साँवा भुक्तानीमै खर्च हुने बताउनुभयो ।

उहाँका अनुसार ४१० अर्ब रुपियाँ आन्तरिक ऋण उठाइने छ भने २४६ अर्ब रुपियाँ आन्तरिक ऋण तिर्न प्रयोग हुने छ । त्यस्तै, २४७ अर्ब रुपियाँ वैदेशिक ऋण लिइने र ७२ अर्ब रुपियाँ वैदेशिक ऋण भुक्तानी गरिने छ ।

उहाँले वर्तमान सरकार बन्दै गर्दा कुल सार्वजनिक ऋण करिब ३० खर्ब रुपियाँ रहेको र अब ३३ खर्ब रुपियाँ पुग्ने अनुमान गरिएको बताउनुभयो ।उहाँले ६६ खर्ब रुपियाँ बराबर रहेको अर्थतन्त्रलाई ७४ खर्ब रुपियाँसम्म विस्तार गर्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो ।

उहाँले साँढे छ खर्ब ऋण लिएपनि ऋण–जिडिपी अनुपात (डेब्ट टु जिडिपी रेसियो) भने स्थिर रहने दाबी गर्नुभयो । उहाँले कर बढाएकोमा पनि र ऋण लिएको पनि विरोध नगर्न सांसदलाई आग्रह गर्नुभयो ।

राजस्वले मात्रै देश चलाउन मुस्किल हुने भएकोले ऋण लिनैपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँले हालै पनि एडिबीसँग दुई महत्त्वपूर्ण परियोजनाको लागि ऋण सम्झौता गरेको जानकारी दिनुभयो ।

एकीकृत खानेपानी तथा ढल व्यवस्थापन र भन्सार तथा आपूर्ति व्यवस्थापनका लागि २५ अर्ब रुपियाँ बराबरको ऋण लिएको बताउनुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter