५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

यज्ञप्रसाद सापकोटा / बर्दिया, असार २७ गते । राजापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ । किसानलाई खेतीपाती गर्न सहज होस् भनेर कृषि सामग्री वितरण गरेको हो ।
किसानलाई ७० वटा पावर ट्रिलर, ३० वटा विद्युतीय मोटर, ७ वटा मिनी ट्रिलर, १० वटा दाना बनाउने मेसिन, तीनवटा ई–लोडर र ६० वटा सिँचाइका लागि पाइप वितरण गरिएको हो । किसानको मागअनुसार ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनुभयो ।
राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले कृषिमा आधुनिक प्रविधि र यन्त्रीकरणको प्रयोग बढाइ उत्पादन वृद्धि तथा कृषकको आयस्तर सुधार गर्ने उद्देश्यले आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
उपप्रमुख मनकला चौधरीले कृषि उत्पादन बढाइ आयात घटाउने, निर्यात प्रवर्धन गर्ने र कृषकहरूको जीवनस्तर उकास्न नगरपालिका निरन्तर लागिपरेको बताउनुभयो । गतवर्ष पनि राजापुर नगरपालिकाले अनुदानमा कृषि सामग्री वितरण गरेको थियो ।