संसद् र जनताबिचको सम्बन्ध सुदृढ भए मात्र लोकतन्त्र बलियो हुन्छ: सभामुख अर्याल

काठमाडौँ, असार ३१ गते । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गर्नुअघि सदस्यलाई सम्बोधन गर्दै संसद् र जनताबिचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने बताउनुभएको छ।

सभामुख अर्यालले प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा केही महत्त्वपूर्ण विधेयक पारित भएको जानकारी दिँदै चालु अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रमसहित विनियोजन विधेयक, २०८३, आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ समेत पारित भएको उल्लेख गर्नुभयो। उहाँले नयाँ गठन भएको प्रतिनिधि सभामा सदस्यहरूको भूमिका सक्रिय रहेको र आगामी बैठकमा अझ बढी सक्रियताको अपेक्षा गरेको बताउनुभयो।

चालु आर्थिक वर्ष २०८२–८३ को अन्त्यमा आइपुगेको सन्दर्भ जोड्दै सभामुखले भन्नुभयो, “चालु आर्थिक वर्षमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा गरिएका कानुन र सेवा प्रवाहप्रति जनस्तरको प्रतिक्रिया, चासो र सुझावहरू सुन्ने र बुझ्ने प्राथमिक दायित्व प्रतिनिधि सभाका सदस्यहरूको रहन्छ।”

संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुने संवैधानिक सिद्धान्त स्थापित गरेको उल्लेख गर्दै उहाँले सो मूल मर्मलाई आत्मसात् गर्दै तीनवटै तहबिचको विकास, कानुन निर्माण एवम् सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषयलाई थप सुमधुर तुल्याउन सांसदहरूले नेतृत्वदायी भूमिका लिनुपर्नेमा जोड दिनुभयो।

सभामुख अर्यालले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भएको र संसद्को जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्ने स्पष्ट पार्नुभयो। उहाँका अनुसार प्रतिनिधि सभाका सदस्यहरू जनप्रतिनिधिसँगै जनता र संसद्बिच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु हुन्। जनताका आवाज, आकाङ्क्षा र अपेक्षालाई संसद्को निर्णय प्रक्रियासम्म पुर्‍याउने र संसद्का निर्णयलाई पुनः जनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार भएको उहाँको भनाइ थियो।

तीनवटै तहबिचको सम्बन्धलाई थप सुदृढ बनाउन, जनताका आवाजलाई सदनसँग जोड्न र विधेयकहरूमाथि व्यापक बहसको पृष्ठभूमि तयार गर्न आफ्ना मतदाता एवम् नागरिकसमक्ष पुग्न माननीय सदस्यहरूलाई समय आवश्यक भएको महसुस गरिएको सभामुखले उल्लेख गर्नुभयो। माननीय सदस्यहरू मार्फत सङ्कलित जनताका विषयहरू पुनः सदनमा प्रवेश गरी संसद्को आवाज र सरकारको जवाफदेहिताको विषय बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको सन्दर्भमा प्रचलित कानुनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणको अभियानमा संसद्को महत्त्वपूर्ण भूमिका हुने भएकाले आगामी बैठकहरूमा सांसदहरूको भूमिका अझ सक्रिय रहने विश्वास सभामुखले लिनुभएको छ।

सभामुख अर्यालले भन्नुभयो, “संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्नुहोस्।” प्रतिनिधि सभाको अर्को बैठक संवत् २०८३ साल साउन १४ गते बिहीवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter