पूर्वअखिलहरूको निष्कर्ष : नेतृत्वको निशर्त बिदाइ

काठमाडौँ, साउन १० गते । नेकपा एमाले पुनगर्ठन अभियानमा अनेरास्ववियुका पूर्व नेताहरू पनि सामेल भएका छन् । २०६२/०६३ सालको राजनीतिक परिवर्तनपछि अखिलको नेतृत्व लिएका नेताहरूले भेला गरेरै पार्टी पुनगर्ठनको अभियान अगाडि बढाएका हुन् ।
बागबजारस्थित होटल हार्दिकमा आइतबार भएको भेलामा ठाकुर गैरेदेखि सुजन कडरियासम्मका पूर्वअध्यक्ष सहभागी थिए । पूर्वअध्यक्ष नविना लामाले संयोजन गरेको ‘पार्टी पुनगर्ठनमा पूर्व अखिलहरूको भूमिका’ विषयक भेलाको उद्देश्य एमाले नेतृत्व परिवर्तन थियो ।
‘यथास्थितिमा एमाले बन्दैन । नेतृत्व हस्तान्तरण र पुस्तान्तरण एमाले पुनगर्ठनको शर्त हो,’ लामा भन्छिन्, ‘पूर्वअखिलहरू भेला भएर त्यही सन्देश दिएका छौं ।’
उनका अनुसार भेलाका वक्ताहरूले एकैस्वरमा वर्तमान नेतृत्वलाई निशर्त बिदा लिन आग्रह गरेका छन् । भेलाका प्रमुख वक्ता रहेका ठाकुर गैरेले वाम एकताअघि वर्तमान नेतृत्वको बिदाइ लिन आग्रह गरे ।
‘नेताहरु मिलेर हात हल्लाउँदैमा अब पार्टीमा ऊर्जा आउँदैन, उहाँहरूले छोडेको घोषणा गर्दा ऊर्जा आउँछ,’ उनले भने ।
एमाले र नेपाली कम्युनिष्ट पार्टी मिल्दा ५ लाख मानिस उतार्न सकिने प्रचण्डको अभिव्यक्तिप्रति व्यंग गर्दै गैरेले भने, ‘अहिले पाँच सय मानिस उतार्ने स्थिति छ ?’ उनले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणले मात्र पार्टी पुनगर्ठन संभव हुने बताए ।
‘अहिलेको कमिटीहरू विघटन गरौं । मूल नेतृत्वले विदा लिएर आफू मूनिको नेतालाई छोडोस्,’ गैरेको प्रस्ताव छ । यस्तै प्रस्ताव अर्का केन्द्रीय सदस्य रचना खड्काले पनि राखिन् । ‘यो संकटबाट पार्टीलाई बचाउने हो भने यसका सार्वभौम सदस्यहरु जाग्नुपर्ने भएको छ,’ उनले भनिन् ।
एमाले संकटमा पर्नुपर्ने कारणले चर्चा गर्दा खड्काले युवाहरुको आत्मविश्वासबारे पनि टिप्पणी गरिन् । ‘एमालेका युवाहरुमा आत्मविश्वास गुमेको छ । ५० वर्ष पुगेकाले पनि आफूलाई नेता हुने बेला भएको छैन भन्ने ठान्छन्,’ उनले भनिन् ।
यो अभियानको उद्देश्यबारे प्रष्ट्याउँदै अखिलका पूर्व नेता मेनुका पछाईँले नयाँ पुस्तालाई पार्टीको नेतृत्व दिइनुपर्ने प्रस्ताव गरिन् ।
‘युवाहरुलाई विश्वास नगरेका कारणले एमाले यो स्थितिमा आयो,’ उनले भनिन्, ‘खिसीट्युरी र आलोचना गर्न उपस्थित भएका छैनौँ, सम्मानपूवर्क बसिदिनुस् । तपाईँहरुले योगदान गर्न बाँकी केही छैन, पाउन पनि केही बाँकी छैन ।’
भेलाका अर्का वक्ता उषाकिरण तिम्सेनाले त केपी ओलीको बिदाइ निर्शत हुनुपर्ने बताइन् । ‘ग्रेसफूल एक्जिटको कुरा होइन, अब निशर्त बिदाइ हो,’ उनले भनिन् । अखिलका पूर्व नेता मोती विश्वकर्माले विगतमा झैं यसपटक पनि पार्टीले गरेको गल्ती सच्याउन अखिल अगाडि सर्नुपरेको बताए ।
‘पार्टीले गरेको गल्तीहरु अनेरास्ववियुले सच्याएका थुप्रै उदाहरण छन्,’ उनले भने, ‘फेरि बेला आएको छ, गल्ती सच्याउने ।’ एमाले बचाउन पुनगर्ठनको अर्को विकल्प नरहेको उनको तर्क थियो ।
अखिलका पूर्वमहासचिव नरेश रोकायाले वर्तमान नेतृत्वले गरेका कमजोरीहरुको लामो फेहरिस्त प्रस्तुत गरेका थिए । उनको निष्कर्ष पनि अरु वक्ताहरुकै जस्तो छ– निशर्त पुनगर्ठन ।
‘हिजो कर्ण थापाहरुले बोल्दै गर्दा हामीले बोल्न सकेनौं, गल्ती गर्यौ । तर आज हामी बोल्नुपर्छ । गल्ती सच्याउनुपर्छ,’ युवा पंक्तिलाई रोकायाले आग्रह गरे ।
पूर्वअखिल अभियानमा जोडिएका तपेन्द्र शाही, पार्टी पुनगर्ठन नभएसम्म अभियान जारी रहने बताउँछन् । ‘हामी दास पनि होइनौँ, लास पनि होइनौँ । नेतृत्वले निशर्त बिदा नलिएसम्म हामी निरन्तर लागिरहन्छौँ,’ उनले भने ।
यो भेलामा अखिलका पूर्वअध्यक्ष माधव ढुंगेल, समिक बडाल, सुजन कडरियालगायतले पनि सम्बोधन गरेका थिए ।