वीर अस्पतालको सेवा देशभर विस्तार गर्न उपाध्यक्ष भट्टको सुझाव

सिर्जना खत्री / काठमाडौँ, साउन १२ गते। योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले वीर अस्पतालको सेवा विस्तारलाई काठमाडौँमा मात्र सीमित नराखी आवश्यकता अनुसार देशका अन्य स्थानमा पनि सेवा केन्द्र स्थापना गर्ने सम्भावनाबारे अध्ययन गर्नुपर्ने सुझाव दिनुभएको छ ।

अस्पतालको १३७ औँ वार्षिककोत्सवको अवसरमा आयोजित कार्यक्रममा उहाँले यसबाट अस्पतालको विशेषज्ञ सेवा देशभर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्तो सुझाव दिनुभएको हो ।

भट्टले वीर अस्पताल नेपालको सबैभन्दा विश्वासिलो सार्वजनिक अस्पतालमध्ये एक रहेको उल्लेख गर्दै यसको सेवाप्रति आम नागरिकको भरोसा निरन्तर बढ्दै गएको जीकिर गर्नुभयो ।

स्वास्थ्य र शिक्षाजस्ता सामाजिक क्षेत्र नेपालको दीर्घकालीन आर्थिक विकासका प्रमुख आधार भएको उल्लेख गर्दै उनले दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

पछिल्लो समय विद्यार्थीको प्राविधिक शिक्षाप्रतिको आकर्षण घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले भविष्यमा दक्ष स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन आवश्यक नीति र कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न सके विदेशी बिरामी आकर्षित गरी स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ ।विदेशमा बसोबास गर्ने नेपाली तथा विदेशी नागरिकलाई नेपालमै उपचारका लागि आकर्षित गर्न सके सेवा व्यापारमार्फत मुलुकले आर्थिक लाभ लिन पिकने धारण व्यक्र गर्नुभयो ।

अस्पतालका उपकुलपति प्रा.डा. विवेक आचार्यले वीर अस्पतालले संविधानको मर्म र भावना अनुरूप नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन महत्पवूर्ण योगदान दिँदै आएको बताउनुभयो ।

उहाँले अस्पताल केन्दीय रेफरल अस्पतालको रुपमा रहेको यस अस्पतालको सेवालाई अझ विस्तार गर्नका लागि दुवाकोट,भक्तपुरमा विस्तारित अस्पतालको निर्माण कार्य अगाडि बढाउन र फेलोसिप लगायत अन्य शैक्षिक कार्यक्रमको सञ्चालनले नागरिकको स्वास्थ्य सेवाका साथै शिक्षाका लागि पनि महत्वपूर्ण केन्द्रको रुपमा विस्तार र विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका सह प्रा डा.प्रभा चापागाँई कोइरालाका अनुसार हाल २२ वटा क्लिनिकल विभाग र तीन वटा क्लिनिकल युनिटमार्फत आधारभूत, विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान भइरहेको छ।

अस्पतालले रेस्पिरेटरी, कार्डियो, न्युरो, एनेस्थेसिया, सर्जिकल तथा मेडिकल सेवाअन्तर्गत ७८ सघन उपचार (आईसीयू) शय्या र ३८ हाई डिपेन्डेन्सी युनिट (एचडीयू) शय्यामार्फत उपचार सेवा सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

अस्पतालका अनुसार गत आर्थिक वर्षको तुलनामा बहिरङ्ग (ओपीडी) सेवा लिने बिरामीको सङ्ख्या ६.५ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८१ र ८२ मा २१ हजार १२४ जना भर्ना भई उपचार लिएकोमा चालु आर्थिक वर्ष २०८२ र ८३ मा यो सङ्ख्या २२ हजार ७४४ पुगेको छ, जुन ७.६ प्रतिशत वृद्धि हो। अस्पतालले यो वृद्धि केवल सङ्ख्यात्मक नभई अस्पतालप्रति सेवाग्राहीको विश्वास बढेको संकेत भएको जनाएको छ।

अस्पताल विशेषगरी गरिब तथा विपन्न वर्गको उपचार केन्द्रका रूपमा परिचित रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०८२र८३ मा पाँच करोड रुपियाँ भन्दा बढी बराबरको उपचार शुल्क छुट प्रदान गरिएको जानकारी दिइएको छ।

अस्पतालमा उपचार गराउने सेवाग्राहीमध्ये करिब २५ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन्। स्वास्थ्य बिमा कार्यक्रममार्फत ओपीडीमा करिब ३० प्रतिशत र भर्ना सेवामा ३५ प्रतिशत बिरामीले उपचार सेवा लिएको अस्पतालको तथ्याङ्क छ।

गत आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत करिब १७ करोड सात लाख रुपियाँ बराबरको उपचार सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।

आर्थिक वर्ष २०८२ र ८३ मा नेपाल सरकारबाट अस्पतालका लागि एक अर्ब ५० करोड २६ लाख ३२ हजार रुपियाँ बजेट विनियोजन भएकोमा एक अर्ब १५ करोड ५५ लाख रुपियाँ खर्च भएको छ, जुन कुल बजेटको ७८ प्रतिशत हो।

यस अवधिमा आकस्मिक सेवा ३५ शय्याबाट ५५ शय्यामा विस्तार गरेको छ। आधुनिक इमरजेन्सी भवन निर्माण अन्तिम चरणमा पुगेको तथा पथोलोजी शाखाको नयाँ भवन निर्माणको करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ।

अस्पतालले पेन क्लिनिक, कक्लियर इम्प्लान्ट, स्ट्रोबोस्कोपीलगायत विशेष सेवा सञ्चालन गरिरहेको छ। साथै ग्यास्ट्रोइन्टेरोलोजी, चेस्ट मेडिसिन तथा अन्य अत्याधुनिक उपचार सेवासमेत विस्तार गरेको छ ।

विभिन्न महानगरपालिकासँगको सहकार्यमा स्तन, पाठेघरको मुख र कोलोन क्यान्सरको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गरी एक हजारभन्दा बढी नागरिकलाई विशेषज्ञ सेवा प्रदान गरिएको छ।

साथै डेक्सा स्क्यान सेवा सुरु भएपछि हड्डीसम्बन्धी रोगको निदान र उपचारमा सहजता पुगेको छ। अस्पतालले फार्मेसी सेवा विस्तार, औषधीको सुरक्षित प्रयोगका लागि एन्टिमाइक्रोबियल स्टेवार्डसिप कार्यक्रम, स्वास्थ्यकर्मी तालिम, उपचार निर्देशिका तथा मोबाइल एप सञ्चालन गरेको छ।

बिरामीको चाप व्यवस्थापन गर्न अनलाइन टिकट दर्ता, टिकट काउन्टर विस्तार, युनिक हेल्थ आईडी तथा डिजिटल स्वास्थ्य प्रणाली लागू गरिएको छ।

अस्पतालको सूचना प्रणालीलाई स्वास्थ्य मन्त्रालयको ड्यासबोर्डसँग एकीकृत गरिएको तथा डिजिटल प्रशासन र गुनासो व्यवस्थापन प्रणालीसमेत सञ्चालनमा ल्याइएको छ।

अस्पतालले आगामी दिनमा एकीकृत अस्पताल व्यवस्थापन सूचना प्रणाली थप सुदृढ बनाउने, बिरामी कुरुवा घर निर्माण गर्ने, आधुनिक प्रतीक्षालय बनाउने तथा विशेषज्ञ चिकित्सक, नर्सिङ र एनेस्थेसिया जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार पुराना भौतिक संरचना, सीमित पूर्वाधार, बढ्दो बिरामीको चाप, नर्सिङ जनशक्तिको उच्च स्थानान्तरण, स्वास्थ्य बीमा बोर्ड तथा सरकारी निकायबाट शोधभर्ना रकम ढिलो प्राप्त हुने समस्या र आकस्मिक सेवाका लागि अपर्याप्त बजेट अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter