काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन; नेता श्रेष्ठको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ, साउन १२ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।
मङ्गलबार दिउँसो ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा वरिष्ठ नेता श्रेष्ठको निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्री गुरु घिमिरेले जानकारी दिनुभयो।
पार्टीको कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न भूमिकामा रहेर गरेको योगदान गर्नुभएका श्रेष्ठ क्यान्सर पीडित हुनुहुन्थ्यो । उहाँ विगत १५ दिनदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा उपचाररत हुनुहुन्थ्यो ।श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बुधबार बिहान सानेपास्थित नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा राखिने छ।
काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार वरिष्ठ नेता श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको हो । उपसभापति शर्माले उहाँको निधन लगत्तै बुधबार बिहानका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिनुभयो । बैठकले शोक प्रस्ताव पारित गरेपछि अन्तिम श्रद्धाञ्जली दिँदै शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
नेता गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं
पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शोक वक्तव्य जारी गर्दै मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनमा दिवङ्गत श्रेष्ठले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ।
श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिका रूपमा आफूले चिन्ने मौका पाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले उहाँको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको महसुस गरेको जनाउनुभएको छ।
साथै, राष्ट्रपति पौडेलले स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोकसन्तप्त परिवारजन र शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ।