‘सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिनेछ’:प्र.म. शाह; आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौँ, साउन १४ गते । सुनसरीको देवानगञ्ज र सिराहा लगायतका क्षेत्रमा भएका पछिल्ला घटनालाई लिएर सामाजिक सञ्जाल र अन्य माध्यमबाट साम्प्रदायिक विद्वेष एवं अफवाह फैलाउनेहरूमाथि कडा निगरानी राख्न प्रधानमन्त्री बालेन शाहले निर्देशन दिएका छन्।
बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संवेदनशील घडीमा असत्य, अपुष्ट र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न सबैलाई सचेत गराउँदै यस्ता गलत कार्य गर्नेमाथि कडा निगरानी गर्न मातहतका निकायलाई निर्देशन दिइएको बताए।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत समुदायबिच वैमनस्यता बढाउने र भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने कार्यलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। उनले यस्ता गतिविधिमा संलग्न हुने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने र अराजकता फैलाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिए। नागरिकलाई सरकारी निकायबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न आग्रह गर्दै उनले हल्लाको पछि नलाग्न अपिल गरे।
मधेसका केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई सामान्य बनाउन सरकारले सुरक्षा संयन्त्रलाई अहोरात्र परिचालन गरेको प्रधानमन्त्रीले जानकारी दिए। राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थितिको गम्भीर समीक्षा गरिएको र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन आवश्यक निर्णय लिइसकिएको उनले बताए। घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको भन्दै उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता व्यक्त गरे।
संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म र संस्कृति मान्ने अधिकार दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले धर्मले हिंसा नभई प्रेम र शान्ति सिकाउने बताए।
एउटा स्थानको घटनालाई लिएर अर्को भूभागमा प्रतिशोधको आगो फैलाउनु न्यायसङ्गत नहुने उनको भनाइ थियो।
प्रस्तुत छ, प्रधानमन्त्री बालेनले गरेको सम्बोधनको पूर्णपाठ :
नमस्कार,
र आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरू,
म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरूसामू उपस्थित भएको छु ।
केही दिनअघि सुनसरीको देवानगञ्ज, सिराहालगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ ।
यस दु:खद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोक सन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु ।
घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी कमजाेरी हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइएको छ ।
घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटना स्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन् ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृहमन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु ।
यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।
अवस्था थप नबिग्रियोस्कु, नै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ ।
परिस्थिति सामान्यीकरण गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ ।
स्थानीय तहसमेत जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ ।
स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं स्वस्थानमा पुगिसक्नुभएको छ ।
साथै, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।
यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न नगराउन अनुरोध गर्दछु ।
साथै सरकार निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु प्रत्येक नागरिकको जिउ धनको रक्षा गर्नु सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो ।
आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन् शान्ति सुरक्षा भंग गर्ने अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिनेछन् ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ ।
धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा घृणा र विभाजन सिकाउँदैन सबै धर्मको मूल सार करुणा दया प्रेम र शान्ति नै हो देशको कुनै एक स्थानमा भएको अनअपेक्षित र दु:खद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायचित वा न्यायसंगत हुन सक्दैन ।
आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरु,
हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन् । हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।
हम आम नागरिक नागरिक समाज धार्मिक समुदाय सब आदरणीय अगुवा सब राजनीतिक दल आज जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति सद्भाव भाइचारा आज राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छि ।
धन्यवाद
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज लगायतका क्षेत्रमा हालै देखा परेको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन अपिल गर्नुभएको छ।
राष्ट्रपति पौडेलले बिहीबार एक अपिल जारी गर्दै बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय नेपाली समाजमा सदियौँदेखि रहिआएको सद्भाव, मेलमिलाप र भ्रातृत्व नै नेपालको मौलिक पहिचान तथा परम्परा भएको उल्लेख गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, “नेपालको यो ऐतिहासिक पहिचानलाई कायम राख्दै देशमा शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछु।”
राष्ट्रपति पौडेलले हाल उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याउन र नागरिकको सहज जीवनयापन गर्ने वातावरण निर्माण गर्न सरकार हरसम्भव प्रयासमा लाग्ने विश्वास व्यक्त गर्नुभएको छ। अपिलमा उहाँले भन्नुभएको छ, “यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायबिच आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न म सबैमा हार्दिक अपिल गर्दछु।”
उहाँले घटनाको निष्पक्ष एवम् सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र आगामी दिनमा यस्ता अवाञ्छित घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबै निकायलाई सचेत रहन आग्रह गर्नुभएको छ।
साथै, राष्ट्रपति पौडेलले सो दुःखद् घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घटनामा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ।