मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकाललाई

काठमाडौँ, साउन १६ गते । मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् ।
मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भए । मिस कोस्मो योलिंडा लिंडक्विस्ट लगायत जजको रूपमा सहभागी थिए । द हिडन ट्रेजरले मिस नेपालको आयोजना गरेको हो ।
ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् । विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् ।
उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन् ।
दीपमाला गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थिइन् ।
साथै, उनी नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डर पनि हुन् ।
मिस वर्ल्डको मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना फैलाउने आफ्नो अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य आफूले राखेको उनले बताउँदै आएकी छिन् ।
उनकी आमाले पनि सन् १९९४ मा आयोजना भएको पहिलो मिस नेपाल प्रतियोगितामा सहभागता जनाएकी थिइन् ।