झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० मानिस र २८ हात्तीको ज्यान गयो

झापा, साउन १७ गते । झापामा मानव–हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् ।

डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार विसं २०६७ असार ३ गतेदेखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ । यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका उनको भनाइ छ ।

कार्यालयका अनुसार २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो । उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०८२/८३ मा भने छ जनाले ज्यान गुमाएका छन् । मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइएको प्रमुख यादवले जानकारी दिए ।

अभिलेखअनुसार २०६७ मा दुई, ०६८ मा सात, ०६९ मा सात, ०७० मा तीन, ०७१ मा दुई, ०७२ मा चार, ०७३, ०७४, ०७७, ०७८ र ०७९ मा क्रमश: पाँच/पाँच, ०७५ र ०७६ मा एक/एक, ०८० मा आठ, ०८१ मा चार, ०८२ र ०८३ को हालसम्म छ जनाको मृत्यु भइसकेको छ ।

विसं २०६७ देखि हालसम्म १० जना गैरनेपालीको हात्तीको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए ।

मानिस मात्र होइन, मानव–हात्ती द्वन्द्वको असर हात्तीमा पनि उत्तिकै परेको प्रमुख यादवले बताए । कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन् । सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका उनले जानकारी दिए ।

प्रमुख यादवका अनुसार वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण हुन् ।

उनले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी र उद्धारका गतिविधि सञ्चालन भइरहेको बताए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter