स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा मर्कामा किसान

शेरबहादुर सार्की / बाजुरा, साउन १७ गते। स्याउ पाक्ने बेला बर्सेनि बाटो बन्द हुने गरेपछि अहिले यहाँका किसान निकै मर्कामा पर्ने गरेका छन्। गत जेठको अन्तिमदेखि अहिलेसम्म यहाँको मार्तडी–कोल्टी सडक अवरुद्ध बन्दै गएको छ। यो सडक असोज–कात्तिकभन्दा यता सञ्चालन हुने सम्भावना छैन।
जीविकोपार्जनका लागि स्याउ खेती सुरु गर्दै आएका यहाँका किसानको स्याउ पाक्ने बेला सधैँ यसरी नै सडक अवरुद्ध हुने गरेपछि पछिल्लो समय यहाँका किसान मर्कामा पर्ने गरेका हुन्। यहाँ साउन १५ देखि भदौको अन्तिम सातासम्म स्याउ पाक्ने गर्छन्। मार्तडी–कोल्टी सडक पनि यति बेला नै बन्द हुने गर्छ। गत जेठदेखि अवरुद्ध बनेको सडक अझै खुलेको छैन।
बुढीनन्दा नगरपालिका–९ का स्याउ किसान प्रकाश रोकायाले भन्नुभयो, “मेरो चार-पाँच सय वटा स्याउका बोट छन्। ती अधिकांश बोट अहिले राम्रोसँग फलेका छन्। यता बारीमा स्याउ पाक्ने समय भयो। उता मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि स्याउ कसरी बजारसम्म पुर्याउने भन्ने चिन्ता लागेको छ।”
उहाँले थप्नुभयो, “बाटो बन्द नभएको भए व्यापारी स्याउ लिन स्याउबारीमै आउने गर्थे। यता बाटो बन्द भएपछि उनीहरू यहाँ आउँदैनन्। आफैँले त्यो स्याउ पिठ्युँमा बोकेर बजारसम्म पुर्याउन सकिँदैन।”
मार्तडी–कोल्टी सडक अवरोधका कारण नै यहाँका स्याउ किसान बर्सेनि यसरी नै मर्कामा पर्ने गरेका छन्। यो समस्या समाधानका लागि धेरै पटक सम्बन्धित निकायमा भन्ने गरिएको छ। तर उताबाट हाम्रो यो समस्याको केही सुनुवाइ नभएको रोकायाले बताउनुभयो।
जिल्लाको पूर्वी-उत्तरी क्षेत्रका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा स्याउ राम्रो फल्ने गर्छ। पछिल्लो समय यहाँ उत्पादन भएको स्याउ देशका विभिन्न ठाउँमा पुग्ने गरेको छ।
हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसानको स्याउ कर्णाली करिडोर हुँदै देशका विभिन्न ठाउँमा जाने गरेको भए पनि यता बुढीनन्दा नगरपालिकामा उत्पादन भएको स्याउ भने बजारसम्म लान समस्या हुने गरेको छ।
मार्तडी–कोल्टी सडक लामो समयसम्म अवरुद्ध बन्ने गरेकाले यहाँको स्याउ बजारसम्म लान समस्या हुने गरेको हो। हिउँदमा यहाँको सडक सुचारु हुने गरेको भए पनि वर्षाको समय सधैँ सो सडक अवरुद्ध हुने गरेकाले यहाँको स्याउ बजारसम्म पुर्याउन समस्या हुने गरेको स्याउ किसानको गुनासो रहेको छ।
फाट्टफुट्ट रूपमा खप्तड छेडेदहको काँडा, गौमूल र बडीमालिकाका केही ठाउँमा पनि स्याउ उत्पादन हुन्छ। तर यहाँ कम मात्रामा स्याउ उत्पादन हुन्छ।
पहिला यहाँ लोकल जातको मात्र स्याउ उत्पादन हुने गर्थ्यो। अहिले यहाँका किसानले गाला, फुजी र गोल्डेन नयाँ जातको स्याउ उत्पादन गर्ने गरेका छन्।
विगतका केही वर्षयता यहाँ उत्पादन भएको झन्डै छ सय मेट्रिकटन स्याउ देशका विभिन्न सहरमा बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
यहाँ १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ। गत वर्ष एक हजार २० मेट्रिकटन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो।
उहाँले भन्नुभयो, “यहाँको स्याउ बजारसम्म पुर्याउनका लागि अहिले कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानको व्यवस्था गर्दै आएको छ।”
पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको यहाँ अहिले फुजी, गाला र गोल्डेन जातको समेत स्याउ उत्पादन हुने गरेको छ। यसरी उत्पादन भएको यो स्याउ अहिले देशका विभिन्न ठाउँमा बिक्री हुने गरेको साहनीले बताउनुभयो।