बाजुराका किसानलाई अर्गानिक स्याउ बिक्रीको हतारो

शेरबहादुर सार्की / बाजुरा, साउन २३ गते। बाजुराका किसानहरूलाई आफ्नो बारीमा फलेको अर्गानिक स्याउ बिक्री गर्न हतारो भएको छ। जिल्लाको पूर्वी-उत्तर क्षेत्रमा पर्ने पाण्डुसैनलगायतका विभिन्न ठाउँका किसानले काँचै स्याउ बजारमा ल्याएर बिक्री गर्न थालेका छन्।
यहाँको वास्तविक स्याउ भदौ १५ गतेपछि मात्र राम्रोसँग पाक्ने गर्दछ। तर, घरायसी आर्थिक अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न, नुन, तेललगायतका दैनिक उपभोग्य सामग्री खरिद गर्न किसानहरूले साउनमै स्याउ बजारमा ल्याउन थालेका हुन्। मार्तडी-कोलटी सडक अवरुद्ध भए पनि किसानहरूले पिठिउँमा बोकेरै भए पनि मार्तडी, तिपाडा र बाम्का बजारसम्म स्याउ पुर्याउने गरेका छन्।
काँचो स्याउ बजारमा नल्याउन स्वामीकार्तिक खापर गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुराले अनुरोध गरेका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख साहनेका अनुसार भदौ १५ पछि मात्रै स्याउको स्वाद र गुणस्तर राम्रो हुने भएकाले किसानलाई नहतारिन आग्रह गरिएको हो।
बाजुरामा फुजी, गोल्डेन, रेड, डेलिसियस र स्थानीय जातका स्याउ राम्रो उत्पादन हुने गर्दछ। यहाँ ४१० हेक्टर जमिनमा स्याउ रोपिएकोमा हाल २०० हेक्टर जमिनबाट फल उत्पादन भइरहेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा यहाँ १६ देखि १८ सय टनसम्म स्याउ उत्पादन भएको थियो भने ७ सय क्विन्टल स्याउ बाहिर निकासी हुँदा किसानले ८० देखि ९० लाखभन्दा बढी आम्दानी गरेका थिए।