भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा, कार्यक्रम दुई चरणमा

काठमाडौँ, साउन २४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार कार्यक्रमअन्तर्गत सरकारमा सहभागी पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन् । यसमार्फत नागरिकका समस्या, गुनासा, अपेक्षा र सुझावलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म जोड्ने उद्देश्य राखिएको छ ।

कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीले सर्वसाधारण नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् । उक्त अवधिमा नागरिकले आफ्ना समस्या, गुनासा, अपेक्षा तथा सुझाव मन्त्रीसमक्ष राख्न सक्नेछन् ।

त्यसपछि साँझ ६ बजेदेखि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्यबीच संयुक्त बैठक हुनेछ । पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका साथै देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा बैठकमा छलफल गरिने रास्वपाले जनाएको छ ।

रास्वपाले नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीचको समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दालाई सम्बोधन गर्न साझा रणनीति निर्माण गर्ने उद्देश्य राखेको छ । साथै मन्त्रीलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने र नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने जनाएको छ ।

नागरिक, पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना तथा कार्ययोजनाको आदानप्रदान गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको रास्वपाका सहमहामन्त्री असिम शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु रहेको उल्लेख गर्दै उक्त कार्यक्रममार्फत जनउत्तरदायी राजनीतिक संस्कार विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter