काङ्ग्रेस पूर्वसभापति देउवा पाँच महिनापछि स्वदेश फिर्ता; मलाई अफ्ठ्याराेमा पार्न राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्ला ?: देउवा

काठमाडौँ, साउन २८ गते । नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता सुदृढ बनाउन र विगतका विभाजन एवम् विद्वेषका घाउहरू निको पार्न आह्वान गर्नुभएको छ।
जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते हुनुभएका पूर्वसभापति देउवाले पाँच महिनाको विदेश उपचारपछि बिहीबार स्वदेश फर्किएलगत्तै एक विशेष सन्देश जारी गर्दै सो आह्वान गर्नुभएको हो।
आफ्नो सन्देशमा उहाँले आफू कुनै शक्ति प्राप्त गर्नका लागि नभई राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यका साथ स्वदेश फर्किएको स्पष्ट पार्नुभएको छ
पूर्वसभापति देउवाले जारी गर्नुभएको वक्तव्यमा मुलुकको विद्यमान जटिल परिस्थितिलाई समाधान गर्न सम्पूर्ण राजनीतिक तथा प्रजातान्त्रिक शक्ति एकाकार हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँलाई स्वागत गर्न काङ्ग्रेसका केही नेता र कार्यकर्ता विमानस्थल पुगेका थिए ।
शेरबहादुरकाे प्रश्न : मलाई अफ्ठ्याराेमा पार्न राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्ला ?
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन्।
५ महिनापछि स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निवास चुनदेवीमा पुगेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए ।
आफूविरुद्ध भएका विभिन्न उजुरी र छानबिनको प्रसङ्ग उल्लेख गर्दै देउवाले अदालत जान आफू नडराउने बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनु भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन। किनभने अहिलेसम्म ५० वर्ष काम गर्या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन।’
मन्तव्यका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसङ्ग निकाले । ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ उनले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गरे ।
मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको बताए। गणतन्त्रको रक्षाका लागि जनता नै सचेत रहेको उल्लेख गर्दै देउवाले भने, ‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन। यो देशको सबैभन्दा ठुलो कुरा हो। यो देशको जनता नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यहीँ हुन्छ।’
देउवाले यो देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए।