नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम

काठमाडौँ, साउन २९ गते । सङ्घीय संसद सचिवालयको आयोजनामा सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन परिसरमा “एक सांसद, एक वृक्षारोपण” कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर गर्नुभएको हो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यको बाक्लो सहभागिता रहेको थियो।
संसद भवन परिसरलाई प्राकृतिक रूपमा समेत सुन्दर, हराभरा र आकर्षक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभामुख अर्यालले बताउनुभयो। उहाँले सांसदले आफूले रोपेको बिरुवाको आफ्नो कार्यकालभरि निरन्तर हेरचाह र संरक्षण गर्नुपर्नेमा विशेष जोड दिनुभयो। “आफूले रोपेको बिरुवालाई कार्यकालभरि निरन्तर रूपमा हेरचाह र संरक्षण पनि गर्नुपर्ने छ,” सभामुख अर्यालले भन्नुभयो।
नयाँ संसद भवन निर्माण परियोजनाअन्तर्गत बगैँचा व्यवस्थापन शीर्षकमा संसद परिसरमा रोपिने विभिन्न प्रजातिका बोटबिरुवा तथा तिनको स्थानसमेत पूर्वनिर्धारित गरिएको थियो।
कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूले करिब पाँच सय वटा विभिन्न प्रजातिका बिरुवा रोप्नुभएको छ। रोपिएका बिरुवामा एभोकाडो, आरु, आरुबखडा, आँप, लिची, अम्बा, नासपाती, कपुर, बेलपत्र, बुद्धचित्त, रुद्राक्ष, तेजपात, ज्यामिर, हलुवाबेद, निम, पैयुँ, समी र गुलमोहरलगायत फलफूल, औषधिजन्य तथा सौन्दर्यमूलक प्रजाति रहेका छन्।