विशेष महाधिवेशन अवैधानिक भएको दाबी, देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन हुनुपर्नेमा जोड

काठमाडौँ, साउन २९ गते । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी नेताहरूले पार्टीको आन्तरिक एकता र वैधानिकतामाथि जोड दिएका छन्।

भेलालाई सम्बोधन गर्दै अधिकांश वक्ताले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै विधान र लोकतान्त्रिक मूल्यमान्यताअनुसार पार्टी सञ्चालन हुनुपर्ने धारणा राखेका हुन् । उनीहरूले देशको राष्ट्रियता संकटमा परेको भन्दै पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले अहिले मुलुकको राष्ट्रियता गम्भीर संकटमा रहेको बताउँदै यसको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गरे। बीपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किएको समयभन्दा अहिलेको परिस्थिति सयौँ गुणा बढी चुनौतीपूर्ण रहेको उनको दाबी छ।

‘अहिले नेपालको राष्ट्रियता र संविधानमाथि ठूलो खतरा छ,’ मुलुकमा हालै देखिएका जातीय र धार्मिक द्वन्द्वतर्फ संकेत गर्दै खड्काले भने, ‘यसलाई जोगाउन कांग्रेसभित्रको पूर्ण एकता र लोकतन्त्रवादी शक्तिहरूको ध्रुवीकरण अनिवार्य छ।’ उनले विशेष महाधिवेशनलगायत अवैधानिक गतिविधिले संगठनलाई अहित गर्ने बताउँदै नेतृत्वलाई सच्याउन दबाब दिनुपर्नेमा जोड दिए।

अर्का नेता डा. शेखर कोइरालाले पनि मुलुक संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको र देशको अस्तित्व तथा राष्ट्रियतामाथि खतरा उत्पन्न भएको बताए। ‘यो परिस्थिति किन निर्माण भयो भन्नेबारे हामीले गम्भीर समीक्षा गर्न आवश्यक छ,’ संसद् र प्रेस स्वतन्त्रताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘यसलाई चिर्न नेपाली कांग्रेसले नै नेतृत्वदायी भूमिका खेल्नुपर्छ।’ उनले न्यायपालिकाको निष्पक्षताको सम्मान गर्दै पार्टीभित्रको विभाजित मानसिकता अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए।

पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीलाई विधि र विधानअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए। विधान मिचेर गरिने गतिविधिले संगठन बलियो नहुने उल्लेख गर्दै उनले विशेष महाधिवेशन विधिसम्मत नभएको दाबी गरे। ‘साध्यमा पुग्नका लागि साधन पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने हाम्रो पार्टीको मुख्य स्कुलिङ हो,’ सत्यलाई सत्य र गलतलाई गलत भन्ने साहस राख्नुपर्ने बताउँदै उनले भने, ‘आज किसानले मल पाएका छैनन्, ग्यास र खाद्यान्नको मूल्य आकासिएको छ। जनताले के भोगिरहेका छन् भन्ने कुराको यथार्थ बुझ्ने पार्टी कांग्रेस नै हो।’ सर्वोच्चको पछिल्लो फैसलापछि १४ औं महाधिवेशनको प्रक्रिया टुंग्याएर १५ औं महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने सिंहको भनाइ थियो।

नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगको कार्यशैली र विशेष महाधिवेशनको मान्यताप्रति कडा आपत्ति जनाए। ‘पक्ष र विपक्षको कुरा सुन्दै नसुनी, आधिकारिक रेकर्ड नै नहेरी आयोगले कसरी यस्तो निर्णय गर्न सक्छ ?’ आयोगको निर्णयले निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको बताउँदै उनले भने, ‘सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयमाथि पुनरावलोकनको ढोका खोलेको छ, यसलाई गल्ती सच्याउने अवसरका रूपमा लिनुपर्छ।’ उनले सर्वोच्चको पूर्ण इजलासबाट कांग्रेसले न्याय पाउने विश्वास व्यक्त गरे।

पूर्वउपसभापति विमलेन्द्र निधिले पनि १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्र भएको स्पष्ट पारे। ‘धोखाधडी वा कब्जा गरेर बनाइएका कुनै पनि विशेष महाधिवेशन वा कमिटीलाई १५ औं महाधिवेशन गराउने कुनै अधिकार छैन,’ उनले भने।

नेता विजयकुमार गच्छदारले गुटबन्दीभन्दा माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरे। ‘तपाईंले चाहेमा पार्टीको विवाद टुंगो लाग्न सक्छ,’ राजनीतिमा व्याप्त विसंगतिबाट मुक्त भई व्यक्ति र समूहभन्दा माथि उठ्न सुझाव दिँदै गच्छदारले भने। उनले युवा पुस्तालाई संवेगात्मक र भावनात्मक पक्ष बुझेर अघि बढ्न सल्लाह दिए।

डा. प्रकाशशरण महतले पनि १४ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई विस्थापित गर्न विशेष महाधिवेशनको प्रपञ्च रचिएको आरोप लगाए। सर्वोच्चको डिभिजन बेन्चको फैसलामा त्रुटि रहेको भन्दै उनले पूर्ण इजलासबाट न्याय पाउने विश्वास व्यक्त गरे। ‘नियमित अधिवेशनको सुनिश्चितता हुँदाहुँदै नेतृत्व परिवर्तनको नाममा विशेष अधिवेशनको जुन बाटो रोजियो,’ यसले पार्टीलाई मजबुत बनाउनुको साटो अन्योल मात्र सिर्जना गरेको उल्लेख गर्दै उनले भने। देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरिने उनले दाबी गरे।

नेता रमेश लेखकले विशेष महाधिवेशनको माग र त्यसको कार्यविधि नै पार्टी विवादको मुख्य कारण भएको विश्लेषण गरे। ‘शल्यक्रियामार्फत समयअगावै सन्तान प्राप्तिको प्रयास गर्दा त्यसले आमा र सन्तान दुवैको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेजस्तै,’ विशेष महाधिवेशनलाई अप्राकृतिक कदम बताउँदै लेखकले भने, ‘पार्टीमा पनि विशेष महाधिवेशनले समस्या सिर्जना गरेको छ।’ उनले १४ औं महाधिवेशनको निरन्तरता र १५ औं महाधिवेशनको तयारीका पक्षधरबीच समन्वय हुनुपर्नेमा जोड दिए।

नेता नारायणप्रकाश साउदले आन्तरिक एकताका लागि १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकता अनिवार्य रहेको बताए। ‘जबसम्म १४ औं महाधिवेशनको समितिलाई पुनर्स्थापित गरिँदैन, तबसम्म कांग्रेसको एकता हुन सक्दैन,’ विशेष अधिवेशनको मागले संगठनलाई क्षति पुर्‍याएको दाबी गर्दै साउदले भने। युवा नेताहरूको प्रभावलाई निर्वाचन परिणामले मिथक साबित गरिदिएको उनको टिप्पणी थियो।

कार्यक्रममा नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापालाई ५५ वर्षको उमेरमा राजनीतिबाट संन्यास लिने पूर्वघोषणा कार्यान्वयन गर्न चुनौती दिए। ‘अहिले उहाँ ५२ वर्ष भइसक्नुभयो, आगामी चुनावसम्म उहाँ ५५ वर्ष नाघिसक्नुहुनेछ,’ आफ्नो बोलीप्रति प्रतिबद्ध भएर युवाका लागि बाटो प्रशस्त गर्न आग्रह गर्दै उनले भने। बस्नेतले देउवाकै बुद्धिमत्तापूर्ण नेतृत्व र रणनीतिका कारण कांग्रेस सबै तहमा शक्तिशाली बनेको दाबीसमेत गरे।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter