नेपालको वनक्षेत्र वृद्धि भयो

लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौं, चैत ११ गते । नेपालको वनक्षेत्र वृद्धि भएको छ । पछिल्ला दिनमा संरक्षणका कामहरु प्रभावकारी रूपमा सञ्चालन भएपछि नेपालमा वनजङ्गलले ढाकेको क्षेत्रफल बढेको छ ।

झण्डै दुई दशकको अवधिमा नेपालले दुई लाख ५१ हजार हेक्टर वन क्षेत्र बढाउन सफल भएको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनबाट यो तथ्याङ्क सार्वजनिक भएको हो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले विभिन्न निकायसँग मिलेर गरेको अध्ययनले यो तथ्य देखाएको हो । केन्द्रले नापी विभाग, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राज्य अमेरिकी सहयोग संस्था यूएसएआईडीलगायतका निकायको सहकार्यमा प्राकृतिक स्रोतको अवस्थाको अध्ययन गरेको थियो ।

हाल गरिएको ‘नेसनल ल्यान्डकभर मनिटरिङ सिस्टम’ले देखाएको वनको क्षेत्रफल ४१.६९ प्रतिशतमा काष्ठ तथा बुट्यान क्षेत्र ४.३८ प्रतिशत जोड्दा प्राकृतिक स्रोतले ढाकेको क्षेत्रफल ४६ प्रतिशतभन्दा बढी आउँछ । नेपालले कम्तीमा ४५ प्रतिशत वन क्षेत्र संरक्षण गर्ने नीति लिँदै आएको छ ।

सन् २००० मा कुल वन क्षेत्र ३९.९९ प्रतिशत अर्थात् ५९ लाख १५ हजार ५१८ हेक्टर थियो भने सन् २०१९ मा यो क्षेत्र बढेर ४१.६९ प्रतिशत अर्थात् ६१ लाख ६६ हजार ७६६ हेक्टर पुगेको वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जानकारी दिनुभयो ।

सन् २०२१ मा बेलायतको ग्लास्गोमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले ४५ प्रतिशत वन क्षेत्र विकास गरी संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सचिव डा. कँडेलले भन्नुभयो, ‘‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा बोलेको सो प्रतिबद्धता पूरा गरेको छ । विश्व सामु नेपाल प्राकृतिक स्रोतको संरक्षणमा थप स्पष्ट भएर उभिएको छ ।

सन् २००० देखि सन् २०१९ सम्मको राष्ट्रिय, प्रदेशहरुको र तराई, पहाड, हिमालको भौगोलिक क्षेत्रको भू–क्षेत्रको नक्सा मन्त्रालयले तयार पारेको छ । दुई वर्षको अवधि लगाएर सो नक्सा तयार पारिएको हो ।

प्राकृतिक स्रोतको अवस्थाबारे गरिएको अध्ययनले कृषि गरिने क्षेत्रफल भने साँघुरिएको देखिएको छ । अध्ययनमा सन् २००० मा भन्दा कृषि क्षेत्र घटेको देखाएको छ । कृषि क्षेत्र सन् २००० मा २६.३१ प्रतिशत अर्थात् ३८ लाख ९१ हजार ५ सय हेक्टर थियो भने सन् २०१९ मा देशको कृषि क्षेत्र घटेर २४.२१ प्रतिशत अर्थात् ३५ लाख ८१ हजार ४७ हेक्टर मात्र देखिएको छ ।

सचिव डा. कँडेलका अनुसार, कर्णाली र मधेश प्रदेशमा बाहेक अरु प्रदेशमा वन क्षेत्र बढेको देखिएको छ । यद्यपि सबै प्रदेशका सहर बजार वरिपरिका क्षेत्र आवासीय क्षेत्रको रुपमा बिस्तार भएको अध्ययनले देखाएको छ । खेतीयोग्य जमिन घरघरेडीमा खण्डीकरण भई बजार बिस्तार हुँदै गएकाले पनि कृषियोग्य जमिनको क्षेत्र घटेको हो ।

भौगोलिक क्षेत्रलाई विश्लेषण गर्दा उच्च हिमाली क्षेत्रमा घाँसे मैदानको स्थिति सुधारिएको छ भने चुरे शिवालिक क्षेत्र, मध्यपहाडी र उच्च पहाडी क्षेत्रमा वन क्षेत्र बिस्तार भएको छ । मध्यपहाडी र उच्च पहाडी क्षेत्रबाट बसाइ सराइ सर्ने क्रम बढेसँगै कृषियोग्य भूमिमा नयाँ बिरुवा उम्रेर जङ्गल तथा घाँसे क्षेत्र वृद्धि भएको अध्ययनले देखाएको छ ।

हिमालमा हिउँले ढाकेको क्षेत्रमा पनि फेरबदल देखिएको छ । विश्व तापमानमा वृद्धि तथा जलवायु परिवर्तनको प्रत्यक्ष असरले हिउँ पग्लने दर वृद्धि भएसँगै हिउँ रेखा तलमाथि सर्ने क्रम पछिल्ला दिनमा तीव्र गतिमा भइरहेको अध्यययनले देखाएको छ ।

सरकारले यसअघि सन् २०१४ मा पनि राष्ट्रिय वनस्रोत सर्वेक्षण गरेको थियो । त्यतिबेला वनको क्षेत्रफल ४०.३६ प्रतिशत अर्थात ५९ लाख ६२ हजार हेक्टर वन क्षेत्र रहेको देखाइएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter