• Monday, April 28, 2025

सरकारी विद्यालयको शान : भर्ना हुन नपाएर विद्यार्थी फिर्ता हुन्छन्

अमरराज नहर्की / तनहुँ, असार ३ गते। पढाइलाई प्रभावकारी बनाउने हो भने निजी भन्दा सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक विद्यालयले प्रस्तुत गरेको छ। सदरमुकाम दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयमा निजी छाडेर भर्ना गर्ने विद्यार्थीको लर्को लाग्ने गर्दछ। विद्यालयमा अहिले दुई हजार सात सय विद्यार्थी अध्ययन गर्छन्।

यो वर्ष विद्यालयले भर्ना नसकेर धेरै विद्यार्थीलाई फिर्ता पठाएको छ। उत्कृष्ट नतिजा ल्याउने गरेकाले विद्यालय अभिभावको रोजाइमा परेको हो। भौतिक पूर्वाधारको अभावले गर्दा एक हजार पाँच सय विद्यार्थी फिर्ता पठाउन बाध्यता भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिनुभयो।

यो शैक्षिक सत्रमा तीन सय विद्यार्थीको थप भर्ना माग भएकोमा निजी विद्यालय छाडेर भर्ना गर्न आउनेको भीड बढेपछि विद्यार्थी फिर्ता पठाउनु परेको उहाँको भनाइ छ।

विद्यालयसँगै रहेको कृषि विकास बैंकको नाममा रहेको जग्गा र घर भाडा लिएर अभिभावको चाहना अनुसार सबै विद्यार्थीलाई भर्ना गर्न चाहेको अध्यक्ष काफ्लेले बताउनुभयो। उक्त जग्गा अहिले खाली छ। ‘हामीले भाडामा लिन बैंकसँग माग गरेका छौं। तर, बैंकले स्वीकृति नदिँदा समस्या परेको छ’, अध्यक्ष काफ्लेले भन्नुभयो। विद्यालयले अहिले १४ रोपनी भोगचलन गरेको काफ्लेको भनाइ छ।

कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव हुँदा बन्द भएका छन्। सत्यवतीमा विद्यार्थी धेरै भएर सेक्सन थप गर्नु परेको छ। कक्षा ९ र १० मा सात सेक्सन, ८ मा छ सेक्सन, ७ मा चार सेक्सन र ६ मा तीन सेक्सन सञ्चालन गर्नु परेको प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिनुभयो।

गुणस्तरीय शिक्षा प्रदान गर्न सकेकाले विद्यालयमा तनहुँको अतिरिक्त गोरखा, लमजुङ र कास्की लगायतका दमौलीमा डेरा गरेर अध्ययन गर्ने विद्यार्थीसमेत रहेका छन्। २०७० सालमा यो विद्यालय नेपाल प्रथम भएको थियो। एसएली परीक्षामा लगातार तीन वर्षसम्म ८० प्रतिशत भन्दा बढी विद्यार्थी उतिर्ण गराउनेको आधारमा प्रथम भएको विद्यालयका पूर्वप्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो।

विद्यालयमा प्राविधिक शिक्षा पढ्न पाइने भएकाले पनि विद्यार्थीको सङ्ख्या धेरै भएको हो। २०६८ सालदेखि विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान समूहको कक्षा सञ्चालन भइरहेको छ। यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकधारतर्फ कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन भइरहेको छ। उत्कृष्ट नतिजा ल्याएकोले नेपाल सरकारले नमूना विद्यालयको रुपमा छनोट गरेको छ। यो २०७४ साल असार २५ गते शिक्षा मन्त्रालयको निर्णय अनुसार नमूना विद्यालय विकास तथा सञ्चालनको लागि छनोट भएको विद्यालयले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter