• Monday, June 09, 2025

नेपाल विश्वको मित्र हो, म ज्यादै खुसी छु : महासचिव गुटेरेस; जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने

काठमाडौं, कात्तिक १४ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वको मित्र भएको बताउनुभएको छ । सङ्घीय सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै गुटेरेसले सो कुरा बताउनुभएको हो ।

सभामुख देवराज घिमिरेले सम्बोधनका लागि आग्रह गर्नुभएपछि महासचिव गुटेरेसले संसद्लाई सम्बोधन गर्नुभयो । “यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन् – नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ” उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्र सङ्घले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न नछाड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । नेपालमा सङ्घीय सांसदहरूसँग साक्षात्कार हुन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको उहाँले चर्चा गर्नुभयो । मनमोहक नेपालमा पुनः आउन पाउनु आफ्नो लागि सौभाग्य भएको उहाँले चर्चा गर्नुभयो । आफू पहिलो पटक नेपालमा सन् १९७० को दशकमा आएको पनि उहाँले बताउनुभयो ।

“जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ” महासचिव गुटेरेसले भन्नुभयो, “विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैँ रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको अनि पक्कै पनि लुम्बिनीको पवित्रता । म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्यता र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु ।”

विश्वमा हिंसा र द्वन्द्व चुलिएका बेला आफू नेपालको भूमिमा आएको चर्चा गर्नुहुँदै महासचिव गुटेरेसले भन्नुभयो, “मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौँ माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली पनि परे । मृत्यु भएका दश नेपाली विद्यार्थीको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता रहनुभएका विपिन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।”

भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको पनि महासचिव गुटेरेसले भन्नुभयो । जलवायु प्रकोप घातक शक्तिका साथ तीव्र रूपले फैलिइरहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “सङ्कटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ । यो देश शान्तिको प्रवर्द्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायुसम्बन्धी कार्यको कट्टर समर्थक हो ।”

दुई ठुला शक्तिका बिचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैले बनाएको उहाँले चर्चा गर्नुभयो । विगत २० वर्षको नेपालको शान्ति प्रक्रियाको यात्रा हेर्नलायक रहेको उहाँले बताउनुभयो ।

जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने

नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक-सामाजिक विकासको प्राथमिकता र त्यसपक्षमा राष्ट्रसङ्घको भूमिकाबारे खुलेर छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसङ्घले चालेका कदमबारे जिज्ञासा राख्नुभएको थियो ।

जवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसङ्घीय जलवायु परिवर्तन सहयोग कोष’ को पुनः संरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताउनुभयो । त्यस्तै उहाँले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामा सहयोग गरिने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक-सामाजिक न्यायसहित विकासको मार्गमा अघि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकता त्यसमै केन्द्रित रहेको बताउनुभयो । महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवम् अभियान परिपूरक भएको र नेपालले दिगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गर्नुभयो ।

नेपालले ध्यानलाई अभियानका रूपमा राष्ट्रसंघसम्मै पुर्‍याएर शान्ति तथा बुद्धको सन्देश स्थापित गर्न खोजेको र यहाँका सबै राजनीतिक पक्षको सहमतिसहित एकदिने ध्यान शिविर तय गरिने जानकारीसमेत उपप्रधानमन्त्री श्रेष्ठले दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter