• Wednesday, June 11, 2025

कालीकोटमा किवी खेती, दिन थाल्यो फल

प्रेमराज सिम्खडा / कालीकोट, माघ ७ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–११, बराँतु गाउँका किसानले तरकारी र फलफूल खेतीलाई प्राथमिकता दिँदै आएका छन् । उत्पादनका हिसाबले उर्वर भूमि भएको बराँतु बस्ने नागरिक कोही पनि बेरोजगार छैनन् । कोही सरकारी सेवामा छन् भने कोही आफ्नै बारीमा तरकारी र फलफूल खेती गरेर स्वरोजगार बनिरहेका छन् । कृषि विकास कार्यालय कालीकोटले पनि सुरुदेखि विभिन्न अनुदान बराँतुलाई दिँदै आएको छ ।

सुन्तला, जुनार, कागतीलगायतका फलफूल र राम्रो तरकारी उत्पादन हुने बराँतुमा पछिल्लो समय किवी खेती गर्न थालिएको छ । कृषक हरिचन्द्र गिरीले किवी खेती गरेर राम्रो आम्दानी गरिरहनुभएको छ । व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती गर्दै आएका जिल्लाकै अगुवा किसान गिरीले पछिल्लो समय किवी खेती गर्न थाल्नुभएको हो । जिल्ला सदरमुकाम मान्म बजारलाई लक्षित गरी २५ वर्षदेखि व्यावसायिक तरकारी गर्दै आउनुभएका कृषक गिरीले सुन्तला र जुनार खेतीका साथै यस वर्षबाट किवी खेतीले उत्पादन दिन थालेपछि निकै खुसी हुनुभएको छ ।

उहाँले परीक्षणका लागि पोखराबाट पाँच र कीर्तिपुरबाट १५ गरी २० वटा किवीका बिरुवा रोपेको र यी बिरुवाले लोभलाग्दो गरी फल दिन थालेपछि व्यावसायिक रूपमा किवी खेती गर्न थालेको बताउनुभयो । कृषक गिरीले बराँतुमा रहेको दुई रोपनी जग्गामा किवी खेती गर्नका लागि एक हजार दुई सय बिरुवा रोप्नुभएको छ । किवीको बिरुवा रोपेको तीन वर्षपछि फल्न थाल्छ । सबै बिरुवा फल्न थालेपछि राम्रो आम्दानी लिन सकिने उहाँको विश्वास छ । कालीकोटमा यसअघि कसैले पनि किवी खेती गरेका थिएनन् । कृषक गिरी जिल्लाकै पहिलो किवी खेती गर्ने किसानका रूपमा परिचित बन्नुभएको छ ।

नगदेबालीको तुलनामा किवी खेतीबाट कम लगानीमा राम्रो आम्दानी लिन सकिने गिरीको भनाइ छ । उहाँका अनुसार यसपालि किवीबाट एक बिरुवाबाट एक क्विन्टलसम्म फलेको छ । किवी प्रतिकिलो तीन सय रुपियाँका दरले बिक्री गरिरहेको सुनाउनुभयो । अहिले भएका २० वटा बिरुवाबाट वार्षिक रूपमा २० क्विन्टल किवी उत्पादन भइरहेको छ । जसबाट सरदर छ लाख आम्दानी हुन्छ । समुद्री सतहदेखि आठ सयदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा किवी खेती हुने गरेको बताइन्छ । जुन भूभाग कालीकोटमा धेरै रहेको छ ।

किवीलाई बढी पौष्टिक आहारका रूपमा लिइन्छ । परम्परागत अन्नबालीको खेतीबाट भन्दा किवी खेतीबाट तीन गुणा बढी आम्दानी हुने गिरीको भनाइ छ । फलफूलको राजा उपनामले परिचित फल किवीलाई बजारीकरण गर्न समस्या नरहेको उहाँको अनुभव छ । स्थानीय सरकारले शीतभण्डारको व्यवस्था गरिदिएमा किवीलाई लामो समयसम्म स्टोर गरेर वर्षभरि नै बिक्रीवितरण गर्न सकिने कृषक गिरीको अनुभव छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter