• Monday, May 19, 2025

१० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रियो; विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

काठमाडौँ, जेठ २८ गते । चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव चार प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ३७ हजार आठ सय ९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख २१ हजार दुई सय ७९ र दुई लाख ३८ हजार नौ सय ७६ थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले वृद्धि भई १३ खर्ब एक अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो ।

वि.सं.२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव दुई प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २४ दशमलव दुई प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।

त्यस्तै, बैङ्क तथा वित्तीय संस्था सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ वैशाख मसान्तसम्ममा १३ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब २० अर्ब ३८ करोड कायम भएको छ । गत वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक प्रतिशत रहेको छ । राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको दश महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

गत वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४ प्रतिशत बराबर छ । त्यस्तै, कुल आयातसँगको अनुपात एक सय पाँच दशमलव तीन र विस्तृत मुद्राप्रदायसँगको अनुपात २९ दशमलव दुई प्रतिशत रहेको छ । राष्ट्र बैङ्कका अनुसार यो अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा आयात दुई दशमलव चार, निर्यात तीन दशमलव छ र कुल वस्तु व्यापार घाटा दुई दशमलव तीन प्रतिशतले घटेको छ ।

गत वैशाख मसान्तसम्ममा नेपाल सरकारको खर्च १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन आठ खर्ब ३१ अर्ब ९३ करोड रहेको छ । यो अवधिसम्मको विस्तृत मुद्राप्रदाय आठ दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव चार प्रतिशतले बढेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter