• Friday, June 13, 2025

संविधान संशोधन गर्ने समय भएको छैन : पूर्वप्रधानन्यायाधीश कार्की; अहिलेको उपलब्धिलाई थप बलियो बनाउनेगरी संविधान संशोधन गर्नुपर्छ : भट्टराई



काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताएकी छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताइन् । कार्कीले अहिले संविधान संशोधनको बेला नभई उपयोगको बेला भएको समेत बताइन् । अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनैपनि संविधानले देश विकास गर्न नसक्ने उनको भनाई थियो ।

उनले वर्तमान संविधानमा भाषा नमिलेको देखिएपनि सुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताइन् । शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको उनको भनाई थियो ।

कार्कीले भनिन्– ‘संविधानको संशोधन नहुने भन्ने होइन, संविधानको संशोधन हुनुपर्छ । तर मेरो विचारमा भर्खर ९ वर्ष भएको छ । जब अरू मुलुकमा सयौँ वर्षसम्म संशोधन हुँदैन भने यसको राम्रो प्रयोग नभईकन, उपयोग नभईकन संशोधन हुनुपर्ने आवाज आइरहेको छ । त्यो हुनु हुँदैन । यो संविधानलाई खराब भन्न मिल्दैन, यो नराम्रो भन्नु जनतालाई गाली गर्नु हो । नेपालको सम्पूर्ण जनताको ६ सय प्रतिनिधिहरूले बसेर छलफल गरेर सबै तप्काका मानिस, राजनीतिज्ञ, अन्य प्रतिनिधित्व गर्ने वर्गका सबै भेला भएर बनाएको हो । हामी कानुन पढेका मान्छेहरूले हेर्दा यो संविधानमा भाषा मिलेको देखिँदैन । क्रमबद्धमा फरक छ । सुरुदेखि अन्त्यसम्म कुरा पुगेको छ ।’

कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताइन् । उनले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको समेत स्पष्ट पारिन् । उनले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानव अधिकारको उल्लङ्घन भएको बताइन् ।

अहिलेको उपलब्धिलाई थप बलियो बनाउनेगरी संविधान संशोधन गर्नुपर्छ : भट्टराई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएका हुन् ।

उनले ठुलो आन्दोलन र मेहनतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको भन्दै अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।

उनले संविधान सहमतिको दस्ताबेज भएकाले जनताको अधिकार स्थापित गर्नका लागि सबैको सहमतिमा संशोधन गर्न सकिने बताए । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य नहुने उनको भनाइ छ । भट्टराईले मुलुकको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राखे ।

उनले संविधान संशोधन गर्दा विभिन्न शक्तिहरूलाई खेल्ने ठाउँ दिन नहुने समेत बताए । लडेर बनाएको जनताको संविधान बचाउनका लागि सबै एक हुनुपर्ने भट्टराईको भनाई थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter