• Sunday, May 18, 2025

सामाजिक परम्परा धानेका आमा र बुवा समूह


राजु लामिछाने / रुकुमपश्चिम, माघ १० गते। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० मा रहेका आमा र बुवा समूहले सशक्तीकरण, विकास निर्माणका साथै परम्परागत रितिरिवाज, संस्कार र संस्कृति जोगाउन निरन्तर काम गरिहरेका छन्। यी समूहले गाउँको विकासको काममा स्थानीयलाई एक ढिक्का बनाएका छन् भने मेला, पर्व, विवाह, भोज लगायतका सांस्कृतिक कार्य धानेका छन्।

वडाको कामीबुढा चौर टोलका आमाले दस वर्षअघि स्थापना गरेको परिवर्तनशील आमा समूहले महिलाको विगतको अवस्था परिवर्तन गर्दै गाउँको रितिरिवाज र संस्कार जोगाउन काम गरिरहेको छ।समूहका अध्यक्ष सुकमती ओलीले गाउँघरमा हुने विवाह, पूजापाठ र सांस्कृतिक कार्यक्रममा आमा समूहले पैंसेरु, सिङ्गारु लगायतका स्थानीय नाच प्रस्तुत गर्ने गरेको बताउनुभयो।

उहाँका अनुसार गाउँको पुरानो संस्कृति र रीतिरिवाज जोगाउन एउटै पोशाकमा नाचगान गर्नेदेखि महिला अधिकारको सवालमा बहस, मेलमिलापमा सहजीकरण गर्ने काम समूहले गरिरहेको छ।समूहले नियमित मासिक बैठक बस्ने, लेबी उठाउने र समूहका सदस्यलाई सस्तो ब्याजमा आयआर्जनका लागि लगानी गर्ने पनि गरेको छ।

टोलमा दुई पैंसेरु समूह छन्।बुवा समूहका रूपमा परिचित यी समूहमा पुरुषहरू मात्र आबद्ध छन्।टोल विकास संस्थाको अध्यक्ष समेत रहनुभएका समूहका अध्यक्ष खिमबहादुर ओलीले देउसी खेलेर जम्मा गरेको रकमबाट टोल विकास संस्थाको नाममा १३० वर्गमिटर जग्गा किनेको बताउनुभयो।गाउँमा हुने विवाह, पूजापाठ, सांस्कृतिक कार्यक्रममा चाहिने दमाहा, पैजन, डौरी, मादल, झ्याली लगायतका वाद्यवादनका सामग्री र भाडाबर्तन समेत समूहले खरिद गरेको छ।

कामीबुढा चौर टोलमा नौ वर्ष अघि गठन गरिएको पैंसेरु समूहका अध्यक्ष कर्णबहादुर बुढाले समूहमा करिब तीन लाख बचत रहेको र कम ब्याजमा समूहका सदस्यमा लगानी गर्ने गरेको बताउनुभयो।उहाँका अनुसार समूहले गाउँमा विपदमा परेका, दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहायता गर्ने गरेको छ।चाडपर्वमा नाचगान गर्ने, विवाह, पूजाआजाका कार्यक्रममा नाच प्रस्तुत गर्ने काम पनि समूहले पनि गर्ने गरेको छ।नमुनाबस्ती टोलमा हिरालाल कठायतको नेतृत्वमा अर्को पुरुष समूह पनि रहेको छ।

वडाध्यक्ष धनबहादुर खड्काले वडामा सात वटा आमा र तीन वटा पुरुष समूह रहेको जानकारी दिनुभयो।उहाँका अनुसार यी समूहले परम्परा र संस्कृति जोगाउने काम गरेका छन्।यसैगरी बाजागाजाका सामाग्री र विवाह, भोज, पुजा, व्रतबन्ध लगायतका काममा आवश्यक भाडाबर्तन जम्मा गरेका छन्।वडाध्यक्ष खड्काले यी समूहले सरकारका तर्फबाट हुने विभिन्न योजनाको काममा सहजीकरण गर्ने, सामाजिक एकता जोगाउने, विकासका काममा अपनत्व सिर्जना गर्ने कार्य पनि गरिरहेको बताउनुभयो।वडा कार्यालयले यी समूहको संस्थागत विकासका साथै वाद्यवादन, पोशाक खरिदका लागि सहयोग समेत गरेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter