• Sunday, June 08, 2025

विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे


विराटनगर, माघ १९ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदबाट ६० दिनभित्र विधेयक पारित गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको कुरा मुख्य नभएको बताएका छन् । विराटनगरस्थित होटेल बिगमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले विधेयक पारित गर्ने प्राविधिक कुरा नभएर छिटो काम गर्ने विषय भएको बताए ।

‘मुख्य कुरा दायित्व र जिम्मेवारीलाई पुरा गर्ने मुख्य कुरा हो । यसलाई कानुनी व्यवस्था गरौँ वा नियमावलीले बाँधौँ भन्ने कुरा आएको छ । जुन कुरा प्रधानमन्त्रीले भन्नुभयो । मुख्य कुरा त्यो होइन,’ घिमिरेले भने, ‘तर समयभित्र आएका विधेयकलाई टुङ्गो लगाउने काममा संसद् गम्भीर बन्नुपर्छ । सबै गम्भीर बनेपछि अगाडि जान सक्छ ।’

उनले समयावधि भएन भन्ने निष्कर्षमा पुगिएको हो भने समय पनि तोक्न पनि सकिने बताए । तर, काम गर्दा टुङ्गिने कुरा भएकोले काममै ध्यान दिनुपर्ने उनको तर्क छ । उनले संसदीय समितिमा अहिले पनि १४ वटा विधेयक छलफलमा रहेको बताए ।

‘अहिले पनि संसदीय समितिमा १४ वटा विधेयक छन् । सङ्घीयतासँग सम्बन्धित निजामती ऐन, विद्यालय शिक्षा विधेयक पनि त्यही रहेको छ । अहिले हामीले ५ दिनसम्म संसद् स्थगित गरेको कुरा भनेको समितिलाई अवसर दिएको हो,’ घिमिरेले भने ।

उनले सङ्घीयता कार्यान्वयनसम्बन्धी सबै कानुनहरू बन्ने गरी प्रतिनिधिसभाले कोसिस गरिरहेको बताए । ‘संसद्ले गर्नुपर्ने काम नगरिरहेको महसुस गरेका छौँ । त्यो सबै गर्ने भनेको दलका माननीयज्यूहरूकै भूमिकाको कारणले हो । एउटा अधिवेशनभरकै क्यालेन्डर बनाउने कोसिस छ । तर, अलिक गाह्रो छ,’ सभामुख घिमिरेले भने, ‘म सभामुख हो । सभामुख भएको बेलामा थोरै कानुन हुँदा फलाना हुँदा थोरै भए भन्ने कुरा हो । के कारणले भयो भन्ने कुरा खोज्नुपर्‍यो, को जिम्मेवार हो ? ।’

उनले सरकारले संसदमा विचाराधीन रहेका विधेयकहरूका विषय पनि अध्यादेशमा ल्याएको विषयमा सदनले अस्वीकार गर्न सक्ने अधिकार संसद्लाई रहेको बताए । ‘सदनमा हुँदाहुँदै ल्याउन (अध्यादेश) पाइँदैन नि भन्ने हो भने । त्यो फिर्ता गर्न पनि सदन चाहिन्छ । सदन बसेपछि दुई वटा छलफल हुँदैन । एउटा फिर्ता हुन्छ एउटा छलफल हुन्छ,’ घिमिरेले भने ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेता, कार्यकर्ता भेटघाट गरिरहेको र राजनीतिमा फर्किने चर्चा भइरहेको विषयमा प्रतिक्रिया दिँदै सभामुख घिमिरेले पूर्व राष्ट्रपति हिँड्नु हुँदैन, कसैलाई भेट्नु हुँदैन भन्ने नभएको र आफूले पनि भेटेर सन्चो बिसन्चो सोधेको बताए । ‘मैले पनि भेटेर आएको हुँ । भेटमा सन्चो बिसन्चोको कुरा भयो । विकास निर्माणको कुरा भयो । सल्लाह, सुझावको कुरा भयो,’ घिमिरेले भने ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter