हाम्रो संसदीय अभ्यास परिपक्व बन्न सकेको छैन : सांसद छविलाल विश्वकर्मा


दिनेश लुइटेल / काठमाडौँ, माघ १९ गते । नेकपा (एमाले) सचिव एवम् रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले नम्बरको खेलले प्रभावकारी नभएको संसद् प्रमुख दुई दल मिलेपछि स्थिरताको बाटोमा अगाडि बढेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । ‘‘जनताको जनादेशले केही दललाई मात्र आरामदायी बहुमत दिएन । त्यो अवस्थामा जादुयी नम्बरले काम गर्न थाल्यो । जसले गर्दा संसद् प्रभावकारी भएन । सत्ता केन्द्रित हुने परिस्थिति बन्दा केन्द्रको सत्ताले प्रदेशलाई प्रभावित पार्ने अवस्था बन्यो । अहिले स्थिरताको सुनिश्चितता देखिएको छ । हामीले अपेक्षा गरौँ यो कार्यकाल स्थिरताका साथ अगाडि बढ्छ ।’’

पूर्वमन्त्री विश्वकर्माले सामाजिक आन्दोलन, खेलकुदसँगै राजनीतिमा लामो समयदेखि विशेष योगदान दिनुभएको छ । उहाँको जन्म वि.सं. २०१९ मङ्सिर २३ गते स्याङजाको साविक कृष्णगण्डकी गाविस- १ मा (हाल कालीगण्डकी गाउँपालिका–१) बुवा चन्द्रबहादुर र आमा गङ्गाजमुनाको कोखमा भएको हो । उहाँको स्थायी ठेगाना रूपन्देहीको देवदह नगरपालिका ९ घोडाहा हो । उपत्यकामा हुँदा उहाँ ललितपुरमा अस्थायी बसोवास गर्नुहुन्छ । स्याङजाबाट विद्यालय तहको औपचारिक शिक्षा आरम्भ गर्नुभएका विश्वकर्माले रूपन्देही गणेश जनता मावि, बुटवल बहुमुखी क्याम्पस हुँदै भारतको पञ्जाबस्थित पटियाला त्रिणासंस्थानबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।

उहाँसँग विद्यार्थी गतिविधि, पार्टी राजनीति, दलित मुक्ति आन्दोलन, खेलकुद, प्रवासी नेपालीसँग नजिक भएर काम गरेको अनुभव छ । उहाँ भलिबलको राष्ट्रिय खेलाडी, प्रशिक्षक हुँदै खेलकुद परिषद् सदस्यसमेत बन्नुभयो । धेरैले उहाँलाई खेल क्षेत्रमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकका रूपमा चिन्ने गरेका छन् ।

सामाजिक कार्य, दलित आन्दोलन र नेकपा (माले)बाट सङ्गठित हुँदै उहाँ राजनीतिमा होमिनुभएको हो । उहाँ २०३५ सालमा ग्रामीण जनसेवा विकास समिति स्याङजाको संस्थापक सदस्य बनेर सामाजिक क्षेत्रमा सक्रिय हुनुभएको हो । २०३७ सालमा दलित आन्दोलनलाई अगाडि बढाउन उहाँ नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, स्याङ्जाको संस्थापक सदस्यता बन्नुभयो । २०३८/३९ सालमा बुटवल बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति बनेपछि राजनीतितर्फ उहाँको आकर्षण बढेको देखिन्छ ।

जातीय आन्दोलनसँगै राजनीतिमा सक्रिय छविलाल २०४५ सालमा मालेको भ्रातृ सङ्गठन जातीय उत्थान मञ्च । २०४६ सालमा आइपुग्दा उहाँले उत्पीडित जनजातीय मुक्ति मोर्चाको सहसंयोजक बनेर काम गर्नुभयो । २०४७ सालमा उत्पीडित जातीय उत्थान मञ्चको केन्द्रीय कमिटी उपाध्यक्ष, २०५१ नेकपा (एमाले) राष्ट्रिय परिषद् सदस्य बन्नुभएका विश्वकर्मा सोही वर्ष नेपाल राष्ट्रिय दलित मुक्ति समाज केन्द्रीय समितिको महासचिव बन्नुभयो । २०५५ सालमा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय समिति अध्यक्षको जिम्मेवारी पाउनुभएका उहाँ सोही वर्ष नेकपा (एमाले)को केन्द्रीय परिषद् सदस्य बन्नुभयो । २०५९ सालमा सम्पन्न एमालेको सातौं महाधिवेशनबाट केन्द्रीय कमिटी वैकल्पिक सदस्य बन्नुभएका विश्वकर्मा २०६५ को आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभयो । एमालेको केन्द्रीय सदस्य, स्थायी कमिटी, पोलिटब्यूरो सदस्य बन्नुभएका उहाँ चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट पार्टी सचिव निर्वाचित हुनुभएको हो । साविकका लुम्बिनी अञ्चल इन्चार्ज उहाँसँग एमाले लुम्बिनी प्रदेश संयोजक भएर काम गरेको अनुभवसमेत छ । विश्वकर्माले एमालेको भारत प्रवास इन्चार्ज बनेर लामो समय काम गर्नुभयो । अहिले उहाँ एमालेको स्थानीय विकास विभाग प्रमुख हुनुहुन्छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter