प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण; आत्मकथा सत्यमा आधारित छ : प्रधानमन्त्री ओली

काठमाडौँ, फागुन १० गते । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो ।
प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७ औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो ।
पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् ।
“न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थे । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ”, लेखिका शाक्यले भन्नुभयो, “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले केपी ओलीसँग करुणाले बिहे गरेँ ।”
राधिकाको आत्मकथा सत्यमा आधारित छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तक सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ।
पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको बताउनुभयो।
“हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म कुरा ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ। यसको सत्यताका कसैले चुनौती दिन सक्दैन’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन। त्यो सबै राधिकाको कमाइ र मेहनत हो। त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ। मेरो त सानो हुँदा आफूूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ। राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ।’’
प्रधानमन्त्री ओलीले आफ्नो एक मानोको बन्दोबस्त मात्रै भएको, देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफूू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफबाह फैलाइएको टिप्पणी गर्दै मुलुकका लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताउनुभयो।
“जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन्। सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूूलाई रैती बनाएको देख्न चाहन्छन्। जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्।’’, नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “मलाई धेरैले माया र साथ दिन्छन्। मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन। मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पति हो।’’