रास्वपा प्रशिक्षणमा रविको निर्देशन- हाम्रा गतिविधिले लोकतन्त्र कमजोर नबनोस्

काठमाडौं, भदौ ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई लोकतन्त्र कमजोर पार्ने गतिविधि नगर्न निर्देशन दिएका छन् ।
उनले पार्टीको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै शीर झुकाउने काम गर्ने भनेका हुन् ।
उनले रास्वपामाथि अहिले सबैले आशंकाको दृष्टि रहेको उल्लेख गर्दै पार्टीका सांसद तथा नेताहरूले आफ्नो व्यवहार र गतिविधिमार्फत त्यसको जवाफ दिनुपर्ने बताए।
आफ्ना कारणले पार्टीको शिर नझुक्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेताहरूलाई पनि त्यही जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गरे।
‘मेरो कारणले तपाईंहरूको शीर झुक्दैन। अन्जानमा गल्ती–कमजोरी भएछन् भने त्यसलाई सच्याउने गर्छु। तपाईंहरूले पनि मेरा कारणले पार्टीको शीर झुक्दैन भन्नुपर्छ,’ उनले भने।
लामिछानेले रास्वपामा विभिन्न क्षेत्र र पृष्ठभूमिका मानिसहरू राजनीतिमा प्रवेश गरेकाले पार्टीप्रति जनताको ध्यान केन्द्रित भएको बताए।
आफूले नेताहरूलाई पढाउन वा सिकाउन नभई पार्टी आफ्नो उद्देश्य र बाटोबाट विचलित हुन नहुने विषयमा सचेत गराउन खोजेको उनको भनाइ थियो।
उनले लोकतन्त्र बलियो बनाउन विभिन्न संस्थाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै पार्टीका गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नहुने बताए।
‘विभिन्न संस्थाहरू भत्किए भने लोकतन्त्र कमजोर हुन्छ,’ लामिछानेले भने, “तिमीहरूको हातमा लोकतन्त्र गयो भने भन्नेछन् त्यसमा हामी सचेत हुनुपर्छ ।’
उनले विगत ३५ वर्षको आलोचनामा अल्झिनुभन्दा आगामी ३५ वर्षको योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन्।
‘बितेको ३५ वर्षलाई कचकच गर्ने होइन, अबको ३५ वर्षको योजना ल्याउनुहोस्,’ लामिछानेले भने।
उनले राजनीतिमा प्रवेश गर्नुको उद्देश्य पनि नेताहरूले सम्झिनुपर्ने बताए। इतिहासले दिएको महत्वपूर्ण अवसरका रूपमा अहिलेको समयलाई लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘राजनीति हामीले किन चुन्यौं, हामी सबैको आ-आफ्नै कारण होला। इतिहासले दिएको महत्वपूर्ण मौका सम्झेर अघि बढाउनुपर्छ। हाम्रा गतिविधिले लोकतन्त्र कमजोर नबनोस्,’ उनले भने।
लामिछानेले पार्टीका नेताहरूप्रति आफू असन्तुष्ट नभएको स्पष्ट पार्दै रास्वपामा क्षमतावान् व्यक्तिहरू रहेकोमा गर्व लागेको बताए। तर ठूलो पार्टी भएका कारण आफूलाई थप चिन्ता हुने उनको भनाइ थियो।
‘म तपाईंहरूसँग असन्तुष्ट छैन। एकसेएक होनहार हुनुहुन्छ, गर्व गर्छु। तर ठूलो पार्टी भएकाले थोरै चिन्ता चाहिँ लाग्दो रहेछ,’ उनले भने।
उनले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै लामिछानेले पार्टी केन्द्रमा मात्र सीमित नरही गाउँ, टोल र बस्तीमा पुग्न निर्देशन दिए ।
स्थानीय तहमा पार्टी बलियो बन्न नसके जनताका अपेक्षा पूरा गर्न कठिन हुने र त्यसले थप निराशा पैदा गर्ने उनको चेतावनी थियो।
उनले बलियो प्रतिपक्षका रूपमा पनि रास्वपाले प्रभावकारी राजनीतिक भूमिका निर्वाह गर्नुपर्ने बताए। त्यसमा असफल भए पार्टीप्रति जनतामा चरम निराशा पैदा हुन सक्ने उनको भनाइ थियो।
सरकारका केही निर्णय विवादास्पद हुन सक्ने भए पनि रास्वपाले सुशासनको पक्षमा निरन्तर आवाज उठाउनुपर्ने लामिछानेले बताए। सरकारमा भइरहेका कामकारबाहीबारे जनताले सोध्ने प्रश्नको जवाफ पार्टीसँग हुनुपर्नेमा उनले जोड दिए।
‘सरकारका कामकारबाहीमा जनताले सोधेका कामकारबाहीको जवाफ हामीसँग हुनुपर्छ’उनले भने।
लामिछानेले अहिलेको समय पार्टी निर्माणको आधार तयार गर्ने समय भएको पनि बताए।
उनका अनुसार रास्वपाले अब संगठन विस्तारसँगै स्थानीय तहसम्म आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउने र जनतासँग प्रत्यक्ष संवाद बढाउने रणनीति लिनुपर्नेछ।
लामिछानेले पार्टीभित्र रहेका फरक पृष्ठभूमिका व्यक्तिहरूलाई एउटै राजनीतिक उद्देश्यमा जोड्दै जिम्मेवार, अनुशासित र लोकतान्त्रिक ढंगले अघि बढ्नुपर्ने सन्देश दिएका छन्।