गाउँघरमा जीवित छ सामूहिक काम

गजेन्द्र गुरुङ / खजुरा, भदौ ७ गते । गाउँघरमा कसैको मृत्यु भयो भने एउटा घरमा मात्र चुलो निभ्दैन, केही दिनका लागि पूरै गाउँको दैनिकी बदलिन्छ । शोकमा डुबेको घरमा आफन्त र छिमेकीको आउजाउ बढ्छ ।

कोही मलामीको व्यवस्थापनमा जुट्छन्, कोही पानी र चियाको व्यवस्था गर्छन् । कोही आवश्यक सामग्री जुटाउन थाल्छन् । दुःखको त्यो घडीमा कसैले धेरै बोल्दैन, तर धेरै हातहरू आफैँ काममा लागिसकेका हुन्छन् ।

यस्तै प्युठानको ऐरावती गाउँपालिका वडा ६ बिजुलीस्थित महेन्द्रदीप गाउँमा मृत्यु संस्कारमा आवश्यक पर्ने धेरै सामग्री जुटाउने जिम्मेवारी समुदायले नै लिने गरेको छ । परिवारमा परेको दुःखलाई आफ्नै दुःख ठानेर गाउँलेहरू सहयोगमा जुट्छन् । महिला समूहमा आबद्ध दिदीबहिनीदेखि गाउँका दाजुभाइसम्म सबैको आ–आफ्नो भूमिका निर्वाह गर्छन् ।

एकाबिहानै गाउँकी सुशीला खड्का आफ्नो घरबाट रित्तो डोको नाम्लो बोकेर गाउँनजिकैको जङ्गलमा जानुभयो । उहाँमात्र नभएर उहाँसँग सिर्जना बस्नेत, राधिका बस्नेत, लक्ष्मी पाण्डे, बिना पाण्डे, सरिता बस्नेत, राधा पाण्डेसहित अन्य दिदीबहिनी डोको र नाम्लो बोकेर जङ्गल जानुभयो ।

उहाँहरु आफ्नो घरको कामका लागि जङ्गल जानुभएको थिएन । केही दिनअघि छिमेकमा मृत्यु हुनुभएकी १०४ वर्षीया एक वृद्धाको घरमा आवश्यक पर्ने दुना टपरी बनाउनका लागि आवश्यक सालका पात टिप्न जानुभएको थियो । उहाँहरुले जङ्गलबाट डोकोभरी सालका पात टिपेर ल्याउनुभयो र मृतकका घरमा आएर सामूहिक रुपमा आवश्यक दुना टपरी बनाइ दिनुभयो । जसलेगर्दा मृतकका घरमा आवश्यक सामग्री जुटाउन सहजभयो ।

उहाँहरु सबै नवप्रतिभा सामुदायिक संस्था (समूह) मा आबद्ध सदस्य हुनुहुन्छ । कुनै घरमा मृत्यु भएको खबर पाउनासाथ महिला समूहका सदस्यहरू सक्रिय हुन्छन् । उनीहरू जङ्गलतिर लाग्छन् । सालका पात टिपेर ल्याउँछन् । ती पातलाई सफा गर्छन् र सबैजना मिलेर दुना–टपरी गाँस्छन् । मृत्यु संस्कारमा आवश्यक पर्ने दुना–टपरी तयार भएपछि शोकमा रहेको परिवारलाई बुझाइन्छ ।

बाहिरबाट हेर्दा यो सामान्य कामजस्तो लाग्न सक्छ । केही सालका पात टिप्नु र दुना–टपरी गाँस्नु ठुलो काम नहुन सक्छ । तर आफ्नो परिवारको सदस्य गुमाएको पीडामा रहेको परिवारका लागि त्यही समयमा कसैले आएर एउटा जिम्मेवारी सम्हालिदिनु निकै ठुलो राहत हुन्छ ।

मृत्युको पीडा आफैँमा गहिरो हुन्छ । त्यसमाथि अन्त्येष्टि र किरिया संस्कारका लागि आवश्यक सामग्री जुटाउने, आफन्तलाई खबर गर्ने, मलामीको व्यवस्थापन गर्ने र दैनिक खर्च धान्ने जिम्मेवारी थपिन्छ । यस्तो अवस्थामा गाउँलेको सामूहिक सहयोगले परिवारको आर्थिक र मानसिक बोझ दुवै घटाइदिन्छ ।

महिला समूहले दुःखमा सहयोग गर्ने काम मात्र गर्दैन । समूहभित्र आर्थिक अनुशासन र आत्मनिर्भरता बढाउने अभ्यास पनि छ । हरेक महिना बैठक बस्छ । बैठकमा गाउँका समस्या, समूहका गतिविधि र आगामी कामबारे छलफल हुन्छ । त्यससँगै सदस्यहरूबाट थोरै–थोरै रकम बचत सङ्कलन गरिन्छ ।

समूहका अध्यक्ष राधा पाण्डेका अनुसार सानो रकमबाट सुरु भएको त्यही बचत क्रमशः समूहको सामूहिक पुँजी बन्छ । कसैलाई तत्काल आर्थिक आवश्यकता परेमा त्यही रकम कम ब्याजमा उपलब्ध गराइन्छ । बाहिरबाट महङ्गो ब्याजमा ऋण खोज्नुपर्ने अवस्था आउन नदिन समूह आफ्नै सदस्यको सहारा बन्छ ।

यसले महिलाबिचको सम्बन्धलाई केवल बैठक र बचतमा सीमित नराखेर दुःखमा साथ दिने, सुखमा रमाउने र आवश्यक पर्दा एकअर्काको आर्थिक तथा सामाजिक सहारा बन्ने संस्कार विकास गरेको बताउनुहुन्छ अध्यक्ष पाण्डे ।

महिला समूहको कामसँगै गाउँका पुरुषहरूले पनि मृत्यु संस्कारमा आफ्नो जिम्मेवारी सम्हाल्छन् । किरिया बसेको व्यक्ति निक्लिने दिन (शुद्धी) मा आवश्यक पर्ने दाउरा सङ्कलन गर्न गाउँका दाजुभाइ जङ्गल पुग्छन् । उनीहरू मिलेर दाउरा ल्याउँछन् र सम्बन्धित परिवारलाई उपलब्ध गराउँछन् ।

यसका लागि कुनै पारिश्रमिक लिइँदैन । कसैले ठेक्का दिएको हुँदैन । गाउँमा कसैलाई यस्तो दुःख पर्दा आफूले गर्नुपर्ने काम हो भन्ने भावनाले उनीहरू जुट्छन् । यही अभ्यासले गाउँलाई गाउँ बनाइरहेको र एउटाको समस्या सबैको समस्या र एउटाको दुःख सबैको दुःख हो भन्ने भावना जीवित रहेको बताउनुहुन्छ स्थानीय रेशम पाण्डे ।

सामूहिकता भनेको ठुलो आर्थिक सहयोग मात्र नभएर कसैको घरमा दुःख पर्दा केही घण्टा समय दिनु पनि सहयोग हो । जङ्गलबाट सालका पात ल्याइदिनु, दुना–टपरी गाँसिदिनु, दाउरा जुटाइदिनु वा आवश्यक पर्दा आफ्नै समूहको बचतबाट कम ब्याजमा पैसा उपलब्ध गराइदिनु पनि सामाजिक उत्तरदायित्व हो ।

स्थानीय टेकबहादुर बस्नेतका अनुसार गाउँको शक्ति त्यहाँका स्रोत साधनमा मात्र नभएर त्यहाँका मानिसको मनमा हुन्छ । दुःखमा अघि बढ्ने ती हातहरू, थोरै–थोरै बचत गर्ने ती महिलाहरू र जङ्गलबाट दाउरा बोकेर फर्किने ती दाजुभाइले यही कुरा प्रमाणित गरिरहेका छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter