गाउँघरमा जीवित छ सामूहिक काम

गजेन्द्र गुरुङ / खजुरा, भदौ ७ गते । गाउँघरमा कसैको मृत्यु भयो भने एउटा घरमा मात्र चुलो निभ्दैन, केही दिनका लागि पूरै गाउँको दैनिकी बदलिन्छ । शोकमा डुबेको घरमा आफन्त र छिमेकीको आउजाउ बढ्छ ।
कोही मलामीको व्यवस्थापनमा जुट्छन्, कोही पानी र चियाको व्यवस्था गर्छन् । कोही आवश्यक सामग्री जुटाउन थाल्छन् । दुःखको त्यो घडीमा कसैले धेरै बोल्दैन, तर धेरै हातहरू आफैँ काममा लागिसकेका हुन्छन् ।
यस्तै प्युठानको ऐरावती गाउँपालिका वडा ६ बिजुलीस्थित महेन्द्रदीप गाउँमा मृत्यु संस्कारमा आवश्यक पर्ने धेरै सामग्री जुटाउने जिम्मेवारी समुदायले नै लिने गरेको छ । परिवारमा परेको दुःखलाई आफ्नै दुःख ठानेर गाउँलेहरू सहयोगमा जुट्छन् । महिला समूहमा आबद्ध दिदीबहिनीदेखि गाउँका दाजुभाइसम्म सबैको आ–आफ्नो भूमिका निर्वाह गर्छन् ।
एकाबिहानै गाउँकी सुशीला खड्का आफ्नो घरबाट रित्तो डोको नाम्लो बोकेर गाउँनजिकैको जङ्गलमा जानुभयो । उहाँमात्र नभएर उहाँसँग सिर्जना बस्नेत, राधिका बस्नेत, लक्ष्मी पाण्डे, बिना पाण्डे, सरिता बस्नेत, राधा पाण्डेसहित अन्य दिदीबहिनी डोको र नाम्लो बोकेर जङ्गल जानुभयो ।
उहाँहरु आफ्नो घरको कामका लागि जङ्गल जानुभएको थिएन । केही दिनअघि छिमेकमा मृत्यु हुनुभएकी १०४ वर्षीया एक वृद्धाको घरमा आवश्यक पर्ने दुना टपरी बनाउनका लागि आवश्यक सालका पात टिप्न जानुभएको थियो । उहाँहरुले जङ्गलबाट डोकोभरी सालका पात टिपेर ल्याउनुभयो र मृतकका घरमा आएर सामूहिक रुपमा आवश्यक दुना टपरी बनाइ दिनुभयो । जसलेगर्दा मृतकका घरमा आवश्यक सामग्री जुटाउन सहजभयो ।
उहाँहरु सबै नवप्रतिभा सामुदायिक संस्था (समूह) मा आबद्ध सदस्य हुनुहुन्छ । कुनै घरमा मृत्यु भएको खबर पाउनासाथ महिला समूहका सदस्यहरू सक्रिय हुन्छन् । उनीहरू जङ्गलतिर लाग्छन् । सालका पात टिपेर ल्याउँछन् । ती पातलाई सफा गर्छन् र सबैजना मिलेर दुना–टपरी गाँस्छन् । मृत्यु संस्कारमा आवश्यक पर्ने दुना–टपरी तयार भएपछि शोकमा रहेको परिवारलाई बुझाइन्छ ।
बाहिरबाट हेर्दा यो सामान्य कामजस्तो लाग्न सक्छ । केही सालका पात टिप्नु र दुना–टपरी गाँस्नु ठुलो काम नहुन सक्छ । तर आफ्नो परिवारको सदस्य गुमाएको पीडामा रहेको परिवारका लागि त्यही समयमा कसैले आएर एउटा जिम्मेवारी सम्हालिदिनु निकै ठुलो राहत हुन्छ ।
मृत्युको पीडा आफैँमा गहिरो हुन्छ । त्यसमाथि अन्त्येष्टि र किरिया संस्कारका लागि आवश्यक सामग्री जुटाउने, आफन्तलाई खबर गर्ने, मलामीको व्यवस्थापन गर्ने र दैनिक खर्च धान्ने जिम्मेवारी थपिन्छ । यस्तो अवस्थामा गाउँलेको सामूहिक सहयोगले परिवारको आर्थिक र मानसिक बोझ दुवै घटाइदिन्छ ।
महिला समूहले दुःखमा सहयोग गर्ने काम मात्र गर्दैन । समूहभित्र आर्थिक अनुशासन र आत्मनिर्भरता बढाउने अभ्यास पनि छ । हरेक महिना बैठक बस्छ । बैठकमा गाउँका समस्या, समूहका गतिविधि र आगामी कामबारे छलफल हुन्छ । त्यससँगै सदस्यहरूबाट थोरै–थोरै रकम बचत सङ्कलन गरिन्छ ।
समूहका अध्यक्ष राधा पाण्डेका अनुसार सानो रकमबाट सुरु भएको त्यही बचत क्रमशः समूहको सामूहिक पुँजी बन्छ । कसैलाई तत्काल आर्थिक आवश्यकता परेमा त्यही रकम कम ब्याजमा उपलब्ध गराइन्छ । बाहिरबाट महङ्गो ब्याजमा ऋण खोज्नुपर्ने अवस्था आउन नदिन समूह आफ्नै सदस्यको सहारा बन्छ ।
यसले महिलाबिचको सम्बन्धलाई केवल बैठक र बचतमा सीमित नराखेर दुःखमा साथ दिने, सुखमा रमाउने र आवश्यक पर्दा एकअर्काको आर्थिक तथा सामाजिक सहारा बन्ने संस्कार विकास गरेको बताउनुहुन्छ अध्यक्ष पाण्डे ।
महिला समूहको कामसँगै गाउँका पुरुषहरूले पनि मृत्यु संस्कारमा आफ्नो जिम्मेवारी सम्हाल्छन् । किरिया बसेको व्यक्ति निक्लिने दिन (शुद्धी) मा आवश्यक पर्ने दाउरा सङ्कलन गर्न गाउँका दाजुभाइ जङ्गल पुग्छन् । उनीहरू मिलेर दाउरा ल्याउँछन् र सम्बन्धित परिवारलाई उपलब्ध गराउँछन् ।
यसका लागि कुनै पारिश्रमिक लिइँदैन । कसैले ठेक्का दिएको हुँदैन । गाउँमा कसैलाई यस्तो दुःख पर्दा आफूले गर्नुपर्ने काम हो भन्ने भावनाले उनीहरू जुट्छन् । यही अभ्यासले गाउँलाई गाउँ बनाइरहेको र एउटाको समस्या सबैको समस्या र एउटाको दुःख सबैको दुःख हो भन्ने भावना जीवित रहेको बताउनुहुन्छ स्थानीय रेशम पाण्डे ।
सामूहिकता भनेको ठुलो आर्थिक सहयोग मात्र नभएर कसैको घरमा दुःख पर्दा केही घण्टा समय दिनु पनि सहयोग हो । जङ्गलबाट सालका पात ल्याइदिनु, दुना–टपरी गाँसिदिनु, दाउरा जुटाइदिनु वा आवश्यक पर्दा आफ्नै समूहको बचतबाट कम ब्याजमा पैसा उपलब्ध गराइदिनु पनि सामाजिक उत्तरदायित्व हो ।
स्थानीय टेकबहादुर बस्नेतका अनुसार गाउँको शक्ति त्यहाँका स्रोत साधनमा मात्र नभएर त्यहाँका मानिसको मनमा हुन्छ । दुःखमा अघि बढ्ने ती हातहरू, थोरै–थोरै बचत गर्ने ती महिलाहरू र जङ्गलबाट दाउरा बोकेर फर्किने ती दाजुभाइले यही कुरा प्रमाणित गरिरहेका छन् ।