भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६६९ पुग्यो; त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन

काठमाडौँ, भदौ १३ गते । रसुवा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या छ सय ६९ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार शनिबार अपरान्ह ४ बजेसम्म रसुवामा १३ जना, धादिङमा ४९ जना, गोरखामा ५४ जना, नुवाकोटमा ४१ जना, चितवनमा २४८ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १५८ जना र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ ।
घाइते तथा उद्धार सङ्ख्या दुई हजार ३०१ जना रहेको छ । हालसम्म २७ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन छन् ।
काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरुको सङ्ख्या १४० रहेको छ ।
त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन
बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ ।
प्रधानमन्त्री कार्यालयले ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली उद्धारमा खटिएको जानकारी गराएको छ ।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उक्त टोली चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गने बताइएको छ ।
संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ (अनुगमन) गर्ने छ ।
प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ’स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने बताइएको छ ।