बाढी–पहिरोबाट तीन जिल्लाका ७ हजार घर क्षतिग्रस्त, १२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ, १६ भदौ । सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।

सडक विभागमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रविन्द्र बोहराले बाढीका कारण निजी आवास र सार्वजनिक संरचनामा अर्बौँको क्षति भएको जानकारी दिए ।

महानिर्देशक बोहराका अनुसार रसुवा, नुवाकोट र धादिङमा गरी करिब ७ हजार ५७७ निजी घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट निजी आवास क्षेत्रमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए । त्यस्तै, सरकारी भवन, विद्यालय र अन्य सार्वजनिक संरचना गरी ४५ वटा संरचनामा क्षति पुग्दा थप साढे ४ अर्ब रुपैयाँको नोक्सानी भएको उनले जानकारी दिए ।

बस्ती नै स्वेप्ट आउट’ ३,४५० जना होल्डिङ सेन्टरमा

२०७२ सालको भूकम्प र अहिलेको बाढीको क्षतिको प्रकृति फरक रहेको महानिर्देशक बोहराले उल्लेख गरे । ‘भूकम्पमा घरहरू भत्किए पनि जमिन सुरक्षित थियो र त्यहीँ पुनर्निर्माण सम्भव थियो,’ उनले भने, ‘अहिले रसुवागढीदेखि स्याफ्रुबेँसीसम्मका कतिपय बस्तीहरू बाढीले पूर्ण रूपमा बगाएको (स्वेप्ट आउट) छ, जहाँ तत्काल सोही ठाउँमा बस्न सक्ने अवस्था छैन ।’

बाढी प्रभावित क्षेत्रका ३ हजार ४ सय ५० जना अहिले विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन् । नुवाकोटमा १६ वटा सेन्टरमा ३,४०३ जना, रसुवामा ३५० जना र रसुवाकै चिलिमे नारायणमा ३०० जना तथा धादिङमा ४ वटा सेन्टरमा ४०० जना बसिरहेको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ ।

हाल १८ वटा विद्यालयहरूलाई आश्रयस्थल (सेल्टर) का रूपमा प्रयोग गरिएको र विद्यालयहरू चाँडै सञ्चालन गर्नुपर्ने भएकाले प्रभावितहरूलाई दुई–तीन हप्ताभित्रै ’ट्रान्जिसनल सेल्टर’ (अस्थायी आवास) मा सार्ने तयारी भइरहेको बोहराले बताए ।

९० करोडको लागतमा अस्थायी आवास बनाइने

सरकारले नयाँ प्रविधिको ’नट–बोल्ट’ प्रिफ्याब संरचना प्रयोग गरी अस्थायी आवास निर्माण गर्ने योजना बनाएको छ । एउटा आवास निर्माणका लागि करिब १ हजार डलर लाग्ने अनुमान गरिएको छ । ६ हजार घरधुरीका लागि यस्ता अस्थायी आवास निर्माण गर्न करिब ९० करोड रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ । यस कार्यमा आईओएम र यूएन ह्याबिट्याट जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सहयोग गर्न सक्ने उनले बताए ।

पुनर्निर्माणका लागि ५ अर्ब आवश्यक

अस्थायी व्यवस्थापनपछि स्थायी पुनर्निर्माण लागि करिब ५ अर्ब रुपैयाँ लाग्ने महानिर्देशक बोहराको अनुमान छ । विगतमा भूकम्प प्रभावितलाई प्रति घर ३ लाख दिइएकोमा अहिले प्रति घर ७ देखि ८ लाख रुपैयाँ अनुदान दिनुपर्ने हुनसक्ने उनले बताए।

हाल विभागका चार वटा प्राविधिक टोलीहरू धादिङ, नुवाकोट र रसुवाका फिल्डमा खटिएका छन्। ती टोलीले बुझाउने विस्तृत प्रतिवेदनका आधारमा उच्चस्तरीय समितिको निर्देशन बमोजिम छिट्टै अस्थायी र स्थायी आवास निर्माणको काम अघि बढाइने उनले जानकारी दिए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter