स्वीकृत विदेशी लगानीको साढे २९ प्रतिशत मात्रै भित्रिन्छ, लाभांश फिर्ता ४० अर्ब

काठमाडौं, भदौ २० गते । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति भएकोमध्ये २९ प्रतिशत मात्र भित्रिने गरेको पाइएको छ । पछिल्लो २५ वर्षमा उद्योग विभागबाट स्वीकृति लिएको एफडीआईमध्ये औसत २९.६ प्रतिशत मात्र भित्रिएको अध्ययनले देखाएको हो।

आर्थिक वर्ष २०८१/८२ मा खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ५० करोड रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । सो अवधिमा १२ अर्बको एफडीआई आएको भएपनि ४ अर्ब ७० करोड लगानी फिर्ता भएको अध्ययनले देखाएको छ । विदेशी लगानीकर्ताले सो आर्थिक वर्षमा करिब ४० अर्ब रुपैयाँ लाभांश लगेका छन् ।

२०८१/८२ को खुद एफडीआई ७ अर्ब ५० करोडसहित कुल एफडीआईको आकार ३ खर्ब ४० अर्ब पुगेको केन्द्रीय बैंकको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

सो सर्वेक्षण अनुसार आर्थिक वर्ष २०८१/८२ को अवधिमा एफडीआईको वर्षिक वृद्धिदर २.१ प्रतिशत रहेको छ । यो वृद्धिमा मुख्यतयाः थप इक्विटी लगानी र नाफाको पुनः लगानीले योगदान पुर्‍याएको अध्ययनको निष्कर्ष छ ।

अघिल्लो आवमा नेपालको वैदेशिक लगानी मौज्दातको मुख्य हिस्सा चुक्ता पूँजी रहेको थियो । कुल मौज्दातमा पुनः लगानी गरिएको नाफाको हिस्सा एक तिहाइभन्दा बढी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यसले विदेशी लगानीकर्ताहरू आफ्नो लगानीप्रति विश्वस्त रहेको र लगानी विस्तारलाई निरन्तरता दिइरहेको अध्ययनले दाबी गरेको छ । वैदेशिक लगानीका बाँकी हिस्सामा अन्तर–कम्पनी ऋणहरू रहेको अध्ययनले औंल्याएको छ । मुख्यतया ठूलो पूँजी आवश्यक पर्ने लगानी आयोजनाहरूमा अन्तर कम्पनी ऋण प्रयोग भएको अध्ययनको ठहर छ ।

कुल वैदेशिक लगानी आप्रवाह र मौज्दात दुवैमा औद्योगिक क्षेत्रको हिस्सा सबैभन्दा ठूलो रहेको छ । विशेषगरी उत्पादनमूलक र विद्युत् तथा ऊर्जा क्षेत्र वैदेशिक लगानीका लाभग्राही छन् ।

सेवा क्षेत्रमा वित्तीय तथा बीमा क्रियाकलाप वैदेशिक लगानीका मुख्य प्राप्तकर्ताका रूपमा अग्रस्थानमा रहेका छन् । वैदेशिक लगानी अझै पनि सीमित क्षेत्रहरूमा मात्र केन्द्रित रहेको अध्ययनले देखाएको छ । लगानीको प्रतिरोधात्मक क्षमता बढाउन र यसको आर्थिक प्रभावलाई फराकिलो बनाउन अन्य क्षेत्रहरूमा पनि लगानी विविधीकरण गर्न अध्ययनले सुझाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत मुलुकको रूपमा भारत रह्यो, त्यसपछि चीन, आयरल्याण्ड, अष्ट्रेलिया र सिंगापुर रहेका छन् । नेपालको वैदेशिक लगानीको परिदृष्यमा एसियाली अर्थतन्त्रहरूको बाहुल्यता कायमै छ ।

अघिल्लो आवमा बागमती प्रदेश नै वैदेशिक लगानी धेरै भित्रिनेमा देखिएको छ । लगानी मुख्य सहरी र औद्योगिक केन्द्रहरूमा केन्द्रित देखिन्छ । यसले पूर्वाधारमा सुधार, सम्पर्क सञ्जालको विस्तार र लगानी सहजीकरणको सुदृढीकरणमार्फत अन्य क्षेत्रहरूमा पनि लगानी प्रवद्र्धन गर्नुपर्ने आवश्यकतालाई प्रस्ट्याएको अध्ययनले आंैल्याएको छ।

वैदेशिक लगानी भएका उत्पादनमूलक उद्योगहरू मध्यम क्षमतामा सञ्चालन भए तापनि अघिल्लो आवमा राम्रो नाफा कमाएको अध्ययनले औंल्याएको छ । एफडीआईले जलविद्युत् र उत्पादनमूलक क्षेत्रहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको अध्ययनको ठहर छ ।

नेपालले आफ्नो लगानी नीति र प्रक्रियाहरूलाई निरन्तर उदारीकरण र परिमार्जन गर्दै व्यापार गर्ने सहजता र अनलाइन/डिजिटल सेवाहरूलाई प्रवद्र्धन गरी वैदेशिक लगानी आकर्षित गर्न अनुकूल वातावरण सिर्जना गरेको अध्ययन प्रतिवेदनमा दाबी गरिएको छ ।

यी सुधारहरूले लगानीकर्ताहरूमा विश्वास बढाएको अध्ययनको दावी छ । सर्वेक्षणले पूर्वाधारको अभाव, नियामक र प्रक्रियागत ढिलाइ तथा जग्गा प्राप्तिसम्बन्धी कठिनाइहरूलाई उच्च वैदेशिक लगानी आप्रवाहका मुख्य अवरोधका रूपमा औंल्याएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter