चाडपर्वमा चिनी अभाव हुन नदिने सरकारको तयारी, सुपथ मूल्य बिक्री गरिँदै

काठमाडौँ, भदौ २५ गते । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी हाहाकार देखिएको छ । साथै मूल्य पनि अत्यधिक वृद्धि भएको छ । तर सरकारी व्यापार कम्पनीहरू आफूहरूसँग पर्याप्त मात्रामा चिनी रहेको दाबी गरिरहेका छन् ।
चाडपर्व (दसैँ, तिहार तथा छठ) को समयमा नेपाली बजारमा चिनीको कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन सरकार तथा मातहतका सार्वजनिक संस्थानहरूले संयुक्त रूपमा आपूर्ति व्यवस्थापन तीव्र पारेका जनाएका छन् । उपभोक्तालाई सहुलियत दरमा चिनी उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मौज्दात परिचालन तथा नयाँ आयातको काम अगाडि बढाएका छन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समग्र बजारको माग र आपूर्तिको सूक्ष्म विश्लेषण गरिरहेको जनाएको छ ।
खुला बजारमा चिनीको मूल्य प्रतिकेजी १५० देखि १६० रुपैयाँसम्म पुगेर उपभोक्ता मारमा परिरहेका छन् । उक्त मूल्य तिर्छु भन्ने उपभोक्ताले पनि चिनी नपाइरहेको गुनासो आइरहेको छ । यस्तो बेला सरकारी स्वामित्वका यी दुई संस्थानले भने प्रतिकेजी १०५ देखि ११० रुपैयाँमै चिनी उपलब्ध गराइरहेको जनाएका छन्, यसले चाडपर्वको समयमा उपभोक्तालाई ठुलो आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।
साल्ट ट्रेडिङ भन्छ : पर्याप्त चिनी छ, भारतबाट थप आउँदै छ
चाडपर्वलक्षित आपूर्ति व्यवस्थापनमा मुख्य भूमिका खेल्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले बजारमा चिनीको कुनै अभाव हुन नदिने स्पष्ट पारेको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार हाल संस्थासँग करिब ३२ देखि ३३ हजार बोरा चिनी मौज्दात छ ।
यसबाहेक निजी क्षेत्रका स्वदेशी चिनी उद्योगहरूबाट लिने निर्णय भएको १२ हजार मेट्रिक टन (करिब २ लाख ४० हजार बोरा) चिनीको सम्पूर्ण भुक्तानी पठाइसकिएको छ । हाल देशकै लाइफलाई नागढुंगा–मुग्लिन सडकको विभिन्न खण्डमा देखिएको अवरोधका कारण ठुला सवारी चल्न नसक्दा साना ट्रकमार्फत ती चिनी बिस्तारै काठमाडौँ भित्रिइरहेका राजभण्डारीले जानकारी दिए ।
यसैबिच सरकारले एक प्रतिशत भन्सार महसुल छुटमा चिनी आयात गर्न दिएको अनुमतिअनुसार भारतबाट आयात प्रक्रियासमेत सुरु भइसकेको छ । पहिलो चरणअन्तर्गत करिब ५० हजार बोरा (२ हजार ५०० टन) चिनी वीरगन्ज नाका आइपुगेको छ भने थप १ लाख बोरा (५ हजार टन) चिनी पनि आयातको पाइपलाइनमा छ ।
साल्ट ट्रेडिङले आफ्ना आधिकारिक बिक्री काउन्टरहरूबाट प्रतिकेजी १०५ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । बजारमा सर्वसाधारणको सहज पहुँचका लागि स्वीकृत कोटा प्रणालीअनुसार डिलर तथा खुद्रा पसलहरूलाई समेत बोरामा चिनी उपलब्ध गराइएको कर्पोरेसनले जनाएको छ ।
खाद्य व्यवस्था कम्पनीमा पनि १० हजार मेट्रिक टन मौज्दात
अर्को सरकारी निकाय ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ले पनि चिनी बिक्री वितरणलाई देशव्यापी बनाएको छ । कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार आन्तरिक उद्योगहरूबाट खरिद गरिएको २५ सय क्विन्टल र भारतबाट आयात गरिएको १० हजार परिमाणको चिनी कम्पनीसँग उपलब्ध भइरहेको छ ।
कम्पनीले हाल काठमाडौँ उपत्यकामा प्रतिकेजी १०९ रुपैयाँ र उपत्यकाबाहिर देशैभर ११० रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । ‘खरिद लागत नै महँगो परेका कारण हालको मूल्य तय भएको हो, यद्यपि संस्थानले कुनै नाफा (मार्जिन) नराखी लागत मूल्यमै उपभोक्तालाई चिनी उपलब्ध गराइरहेको छ,’ सूचना अधिकारी मिश्रले भने ।
बिक्री केन्द्रहरूमा आउने उपभोक्ताले रित्तो हात फर्कनुपर्ने अवस्था नरहेको बताउँदै उनले ढुवानीमा कठिनाइ रहेका दुर्गम जिल्लाहरूमा पनि यथाशीघ्र चिनी पुर्याउन काम भइरहेको जानकारी दिए ।
थप आयात गर्न मन्त्रालयको गृहकार्य
बजारमा चिनीको दीर्घकालीन व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वदेशी चिनी उद्योगहरूमा रहेको मौज्दातको यथार्थ विवरण संकलन गरिरहेको छ । मन्त्रालयले उद्योगी, साल्ट ट्रेडिङ, खाद्य कम्पनी र भन्सार विभागसँग समन्वय गरेर मौज्दातको विश्लेषण गरिरहेको हो ।
मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले बजारमा चिनीको अभाव हुन नदिन मन्त्रालयले नियमित व्यवस्थापकीय तयारी गरिरहेको बताए । ‘चिनीको यथार्थ मौज्दात अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन र अनुगमनको काम जारी छ,’ सहसचिव सुवेदीले भने, ‘चाडपर्वमा माग उच्च हुने भएकाले आपूर्ति सहज बनाउन थप आयातको प्रक्रिया पनि अघि बढाइएको छ ।’
सरकारले यसअघि नै राजस्व तथा भन्सार छुट दिने निर्णय गरिसकेकाले कुन प्रक्रियाबाट (जी–टु–जी वा खुला प्रतिस्पर्धा) र कति परिमाणमा थप चिनी ल्याउने भन्ने विषयमा औपचारिक निर्णय गरी अन्तिम खाका तयार पार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक प्रतिशत भन्सार दरमा २५ हजार मेट्रिक टन चिनी आयातका लागि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिइसकेको छ । उक्त चिनी आयातका लागि तयारी भइरको मन्त्रालयले जनाएको छ ।
साथै सरकारी संस्थानहरूसँग रहेको मौज्दात, निरन्तर भइरहेको आयात र मन्त्रालयको सक्रियताका कारण यस पटकको चाडपर्वमा चिनीको अभाव र कालोबजारी नियन्त्रण हुने सरकारको दाबी छ ।