वाग्ले–जयशंकर भेटवार्ता : नेपाल–भारत सहकार्य थप मजबुत बनाउने विषयमा छलफल

काठमाडौं, असोज २ गते । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच भेटवार्ता भएको छ । भारत भ्रमणको दोस्रो दिन उनीहरूबिच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहलका विषयमा छलफल भएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासकाअनुसार भेटमा मन्त्री डा. वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे।
भेटमा नेपाल-भारतबिचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उनीहरूले छलफल गरे।
यसअघि अर्थमन्त्री डा.वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गरेका थिए।
भ्रमणको पहिलो दिन उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। सो क्रममा उनीहरूबिच द्विपक्षीय आर्थिक हित र सहकार्यका सन्दर्भमा छलफल भएको थियो।