चालु आवको पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत; विदेशी विनिमय सञ्चिति साढे ३९ खर्ब नाघ्यो

काठमाडौं, असोज २ गते । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । महँगीको यो दर पछिल्लो २१ महिनाकै उच्च देखिएको छ । २०८१ मङ्सिरमा मुद्रास्फीति ६.०५ प्रतिशत थियो । त्यसयता घटेर १.११ प्रतिशतसम्म झरेको थियो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्र रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष खाद्य समूहको मूल्यवृद्धि २.२८ प्रतिशतले ऋणात्मक थियो ।
खाद्य समूह अन्तर्गत सबैभन्दा धेरै घ्यू तथा तेल उप–समूहको मूल्य १५.६२ प्रतिशत र फलफूलको १५.३९ प्रतिशतले बढेको छ ।
यसैगरी माछा तथा मासुको ८.६५, तरकारीको ६.९० र मरमसलाको ४.८० प्रतिशतले मूल्य बढेको छ । गैर–खाद्य समूह अन्तर्गत यातायातको मूल्य सूचकाङ्क १३.१७ प्रतिशत र मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशतले बढेको छ ।
प्रादेशिक हिसाबमा सबैभन्दा धेरै मुद्रास्फीति मधेस प्रदेशमा ६.९४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत मापन गरिएको छ । काठमाडौँ उपत्यकामा ४.८१ प्रतिशत, तराईमा ६.६४, पहाडमा ५.९५ र हिमालमा ५.१० प्रतिशत मुद्रास्फीति रहेको छ ।
विदेशी विनिमय सञ्चिति साढे ३९ खर्ब नाघ्यो
मुलुकको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्ममा ३९ खर्ब ४६ अर्ब २३ करोड (अमेरिकी डलर २५ अर्ब ८४ करोड) पुगेको छ । असार मसान्तको तुलनामा यो १.२ प्रतिशतको वृद्धि हो ।
वर्तमान सञ्चितिले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आयातलाई आधार मान्दा २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, देशको बाह्य क्षेत्र थप सुदृढ देखिएको छ । साउन महिनामा चालु खाता रु. ९४ अर्ब ५९ करोड र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड बचतमा रहेको छ । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब १ करोड भित्रिएको छ ।