छाडा पशु व्यवस्थापन र प्राङ्गारिक मल उत्पादन सँगसँगै

यज्ञप्रसाद सापकोटा / बर्दिया, असोज ३ गते । देशभरी नै छाडा पशु चौपाय व्यवस्थापन चुनौतीपूर्ण भएको समयमा बर्दियाको ठाकुरबाबा नगरपालिकाले त्यसलाई अवसरमा परिणत गर्न थालेको छ । पालिककाले छाडा पशु चौपाया व्यवस्थित गरी प्राङ्गारिक मल उत्पादान गर्ने योजना अगाडि सारेको छ ।
छाडा पशु चौपायाले किसानले लगाएको अन्नबाली खाएर सखाप बनाएपछि गौशाला व्यवस्थापन सुरु गरेको नगरपालिकाले व्यवस्थित गौशाला सँगै प्राङ्गारिक मल उत्पादनको योजना अगाडि बढाएको हो ।
कोइकाको साझेदारीमा ठाकुरबाबा नगरपालिका छाडा पशु चौपायालाई व्यवस्थित गरी उत्पादनसँग जोडेर आम्दानी गर्ने र मलको अभावलाई आपूर्ति गर्ने उद्देश्यले अघि बढेको छ ।
वडा नम्बर–५ बनकट्टीस्थित व्यवस्थित गौशाला निर्माण गरी चार सय छाडा पशुचौपाया राखेको छ । यस्तै, वडा नम्बर–४ खैलार गौशालामा तीन सय छाडा पशु चौपाया राखेको छ । व्यवस्थित गौशाला निर्माण पछि किसानको अन्नबाली जोगिएको छ भने किसानका लागि प्राङ्गारिक मल पनि आपूर्ति हुने भएको छ ।
स्थानीय अनिल थारूले पालिकाले छाडा पशु चौपाया व्यवस्थित गरेपछि रातभरी खेत कुर्न नपरेको बताउँदै गोबर मल आवश्यक भएमा खरिद गर्नपनि पाएको बताउनुभयो ।
उपप्रमुख बिना भट्टराईले गाई राष्ट्रिय जनावर भएकोले सबैले संरक्षण गर्न जरुरी रहेको बताउँदै गौशालाको व्यवस्थापनमा जुटेको बताउनुभयो । गौशाला व्यवस्थापन सँगै किसानको लागि प्राङ्गारिक मल उपलब्ध गराएर आम्दानीसँग जोड्ने लक्ष्य रहेको उहाँले जनाकारी गराउनुभयो ।
नगर प्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिकाका चार ठाउँमा आठ सय गाईको संरक्षण गरेको बताउँदै वार्षिक करिब ६० लाख खर्च हुने गरेको बताउनुभयो । गौशाला व्यवस्थापनका लागि कार्यविधि निर्माण गरि अगाडि बढेको बताउँदै जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था र कोइकासँगको सहकार्य गरी उत्पादनसँग जोडेर अगाडि बढाउन लागेको बताउनुभयो ।