२५ जिल्लामा भोलि पनि पूर्णरुपमा यातायात बन्द; अविरल वर्षाको प्रभाव : कुन-कुन बाटो बन्द छन् ?; रोसी खोलामा जलसतह खतराको तहभन्दा माथि पुग्यो

काठमाडौं, असोज ९ गते ।देशका अधिकांश क्षेत्रमा मौसम बदली छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण लगातार वर्षा भइरहेको छ। वर्षाका कारण यहाँका खोलानालामा जलसतह बढिरहेको छ। ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भइरहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्षासँगै बाढी पहिरोको जोखिमका आधारमा ७७ जिल्लालाई तीन भागमा विभाजन गरेको छ। जोखिमलाई रातो, सुन्तला र पहेँलो रङमा विभाजन गरिएको छ। जसअनुसार २५ जिल्ला रातो अर्थात् धेरै जोखिममा छन्।

बाढी पहिरोको उच्च जोखिममा रहेका कारण ती जिल्लाहरूमा सवारी साधन राति र दिउँसो दुवै समयमा पूर्णरुपमा बन्द गर्न प्राधिकरणले सुझाएको छ। त्यस्तै सुन्तला रंगले संकेत गरिएका २९ जिल्लाहरुमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले निर्णय आवश्यक निर्णय लिने भनिएको छ।

अविरल वर्षाको प्रभाव : कुन-कुन बाटो बन्द छन् ?

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्।

शुक्बार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरणअनुसार उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले मुख्य राजमार्गहरूमा रात्रिकालीन सवारी आवागमनमा समेत पूर्ण रोक लगाएका छन्। बागमती प्रदेशअन्तर्गतका धेरैजसो सडक खण्डमा पहिरोको उच्च जोखिम देखिएको छ। ललितपुरको बागमती गाउँपालिकास्थित भटेडाँडा र गोदावरी नगरपालिकाको बर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैगरी काभ्रे र सिन्धुली खण्डमा पर्ने बिपी राजमार्गमा असोज ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रेको रोशी गाउँपालिकास्थित किम्तिबेँसीमा पहिरो जाँदा बिपी राजमार्ग पूर्ण रूपमा बन्द अवस्थामा छ।

सबैभन्दा व्यस्त रहने नारायणगढ-मुग्लिन सडक खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ।

धादिङको बेनीघाट र कृष्णभिर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध बनाएको छ। रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाइएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सडक खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा पनि बाढी र पहिरोले सडक सञ्जाल विच्छेद गरेको छ। पाँचथरको तुम्बेवास्थित नावाखोलामा आएको बाढीले तमोर कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा बाढी आउँदा सिद्धिचरण लोकमार्गमा सवारी साधन चल्न सकेका छैनन्।

सोलुखुम्बुमा भारी वर्षाको पूर्वानुमान रहेकाले असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण सवारी साधन तथा पैदल यात्रीलाई समेत हिँडडुल गर्न रोक लगाइएको छ। भोजपुरको मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्गमा पनि रात्रिकालीन समयमा सवारी चलाउन पूर्ण रूपमा निषेध गरिएको छ।

गण्डकी प्रदेशअन्तर्गत मनाङ र कास्की जिल्लामा पनि बाढी पहिरोको उच्च जोखिमलाई हेरेर यात्रामा कडाइ गरिएको छ। मनाङको नासो गाउँपालिकास्थित खोत्रोमा पहिरो जाँदा चामे-बेँसीसहर सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडकमा असोज १२ गतेसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। कास्कीका ग्रामीण भेगका सम्पूर्ण सडकहरूमा पनि असोज ११ गतेसम्म रात्रिकालीन यात्रा गर्न नपाइने नियम लागु गरिएको छ।

सम्बन्धित निकायहरूले सम्भावित क्षति रोक्न अत्यावश्यक अवस्थाबाहेक रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

रोसी खोलामा जलसतह खतराको तहभन्दा माथि पुग्यो

काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा भइरहेको निरन्तर वर्षाका कारण पनौती भएर बग्ने रोसी खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजे रोसी खोलाको जलसतहले खतराको तह पार गरेको जनाएको छ । केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजे रोसी खोलाको जलसतह ४ दशमलव ५०७ मिटर र पानीको सतह स्थिर रहेको उल्लेख गरेको छ ।

रोसी खोलामा पानीको सतह निरन्तर उकालो लागेपछि तल्लो तटीय क्षेत्र तथा आसपासका बस्तीहरूमा कटान र बाढीको जोखिम बढेको छ । रोसी खोलामा पानी सतहले खतराको तह पार गरेपछि जिल्ला प्रशासन कार्यालयले विशेषगरी रोसी गाउँपालिका, पनौती, नमोबुद्ध नगरपालिका लगायत बिपी राजमार्ग आसपासका नदी किनार क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले रोसी खोलामा जलसतह बढेसँगै खोला आसपासका मानिसहरु टिकटक बनाउने, रिल्स तथा फोटो, भिडियोको लागि खोला छेउमा गएका फोटो तथा भिडियो सार्वजनिक भएकोले खोला छेउमा नजान आग्रह गर्नुभएको छ । उहाँले खोलामा आउने बाढीले क्षति गर्न सक्ने भएकोले सुरक्षा निकायले माइकिङ मार्फत सचेतना फैलाउने काम गरिरहेको बताउनुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter