संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई स्वदेश फर्किनुभयो प्रधानमन्त्री शाह; सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौँ, असोज १० गते । प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको छ । ​

असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो ।

​भ्रमणका क्रममा न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार (केहीबेर)अघि अवतरण गर्नुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको बताइएको छ ।

प्रधानमन्त्री शाह महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । उहाँको भ्रमणबारे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जानकारी दिनुहुँदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको बताउनुभयो ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन यही असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो । उक्त उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना भइरहेको छ ।

प्रधानमन्त्री शाहले महासभाको ‘जनरल डिबेट’ मा २४ सेप्टेम्बर २०२६ मा सम्बोधन गर्नुभएको थियो । उक्त सम्बोधनका क्रममा उहाँले गत महिना भोटेकोशीमा गएको विनाशकारी बाढीलाई जलवायु सङ्कटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नुभएको निमित्त सचिव ढकालले बताउनुभयो ।

प्रधानमन्त्री शाहले उक्त विपद्बाट भएको ठुलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर तथा हिमनदी र ‘पर्माफ्रस्ट’ पग्लिँदै जाँदा हिमपहिरो, बाढी र पहिरोलगायत विपद्को जोखिम बढ्दै गएको बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का समयमा सीमापार समन्वयका लागि ‘हिमालयन क्लाइमेट रेजिलेन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गर्नुभएको थियो ।

साथै, प्रधानमन्त्री शाहले ‘यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भन्दै विश्व शान्तिको आह्वान गर्नुभएको निमित्त सचिव ढकालले बताउनुभयो ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो । भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभएको उहाँले बताउनुभयो ।

यसैगरी, प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग भेटवार्ता गर्नुभएको थियो । उक्त अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

उक्त महासभाको क्रममा आयोजना हुने अतिकम विकसित मुलुक, भू–परिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक, जि–७७ र चीन लगायत मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भइरहनुभएको निमित्त सचिव ढकालले बताउनुभयो ।

साथै, संयुक्त राष्ट्रसङ्घले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा पनि मन्त्री खनालले सम्बोधन गरिरहनुभएको छ । परराष्ट्रमन्त्री खनालले छिमेकी मुलुकलगायत विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गरिरहनुभएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter